सपनालाई धम्की दिने विनयजंगविरुद्ध साइबर अपराधको मुद्दा

Crime

बेवारिसे शव जलाएर चर्चामा आएकी युवती सपना रोका मगरलाई धम्की दिएको आरोपमा पक्राउ परेका विनयजंग बस्नेतविरुद्ध साइबर अपराधको मुद्दामा कारबाही प्रक्रिया अघि बढेको छ ।

विद्युतीय माध्यमको प्रयोगबाट सपनाको गोप्य तस्वीर राखेको पाइएपछि बस्नेतविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको हो ।

काठमाडौं प्रहरी परिसर, टेकुका एक अनुसन्धान अधिकृतका अनुसार विनयजंगको मोबाइलमा सपनाको केही गोप्य तस्वीरहरु भेटिएका छन् । यद्यपि, त्यो तस्वीर कसरी आयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । त्यसका लागि प्रहरीले विनयको मोबाइल प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको डिजिटल फरेन्सिक ल्याबमा पनि पठाएको छ ।

काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले भने घटनाबारे अनुसन्धान जारी रहेको उल्लेख गर्दै तस्वीरबारे बताएनन् । यद्यपि, साइबर अपराधमा मुद्दा अघि बढाइएको उनले स्वीकारे । भन्छन्, ‘बिहीबार साइबर अपराध सम्बन्धी कसुरमा कारबाहीका लागि ५ दिन म्याद थप गरिएको छ ।’ जिल्ला अदालत, काठमाडौंले कार्कीविरुद्ध अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

यसअघि उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भएको थियो । बीबीसीले सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले बस्नेतविरुद्ध काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । त्यही जाहेरीका आधारमा प्रहरीले काठमाडौंको गोंगबुस्थित बसपार्कबाट उनलाई ४ फागुनमा पक्राउ गरेको थियो ।

बस्नेतले केही युट्युब च्यालनमा अन्तर्वार्ता दिँदै ‘मेरो मोबाइलमा सपनामा नग्न तस्वीरहरू छन्, सार्वजनिक गरिदिऊँ’ भन्दै धम्की दिएका थिए । बस्नेत र सपनाले एकअर्कालाई बाबु–छोरीका रुपमा चिनाउँदै आएका थिए र, काठमाडौंमा बेवारिसे शव जलाउने काम गर्थे ।

तर सपना विश्वकै १०० प्रभावशाली महिलाको सूचीमा परेपछि भने उनीहरुबीचको सम्बन्धमा फाटो आएको थियो । सपनाले अहिले आफ्नै अगुवाइमा छुट्टै संस्था समेत दर्ता गरेकी छन् ।