वैदेशिक रोजगारका लागि विदेशिएका नेपालीहरुले नेपालमा (घर) पैसा (रेमिट्यान्स) पठाउन लाग्ने खर्च (लागत) सार्क देशहरु भारत र बंगलादेशभन्दा बढी रहेको पाइएको छ।
नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागले प्रकाशित गरेको नेपालमा विप्रेषण आप्रवाहको स्थिति तथ्याङ्कमा आधारमा ती दुई देशहरुमा भन्दा नेपालमा पैसा पठाउन धेरै खर्च लाग्ने देखिएको हो। यद्यपी नेपाल भित्रिने विप्रेषणको औसत लागत विश्वको औसत लागत भन्दा कम रहेको उक्त प्रतिवेदनमा उल्लेख छ।
सन् २०१९ को तेश्रो त्रैमासको तथ्याङ्क अनुसार प्रमुख श्रम गन्तव्य मुलुकहरुबाट नेपालमा एक पटकमा २०० र अमेरिकी डलर ५०० सम्मको रकम पठाउँदा लाग्ने खर्च अनुसार संयुक्त राज्य अमेरिकाबाट सबैभन्दा बढी र मलेसियाबाट सबैभन्दा कम लागत लाग्ने देखिएको छ।अमेरिकाबाट २०० डलरभन्दा कम रकम पठाउँदा त्यसरी पठाइएको रकमको ५.४ प्रतिशत लागत लाग्ने देखिएकोमा मलेसियाबाट ३.४ प्रतिशत लागत लाग्ने देखिएको छ। यस्तै ५०० डलरसम्म रेमिट्यान्स पठाउँदा लाग्ने लागत भने पठाइएको रकमको अमेरिकामा ३.९० र मलेसियामा २.९० प्रतिशत रहेको देखिएको छ।
नेपाली कामदारको प्रमुख गन्तब्य रहेका खाडी मुलुकबाट नेपालमा रकम पठाउन मलेशियाभन्दा बढी लागत लाग्ने देखिएको छ। नेपाल भित्रने कूल रेमिट्यान्स रकमको सबैभन्दा धेरै कतारबाट १७ प्रतिशत, भारतबाट १४ प्रतिशत, युएईबाट १३ प्रतिशत, साउदी अरेबियाबाट १२, मलेसीयाबाट ९ प्रतिशत, र अमेरिकाबाट ८ प्रतिशत बढी रकम भित्रने गरेको राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ।उक्त प्रतिवेदनमा वैदेशिक रोजगारीमा गएका कामदारहरुले अमेरिकी डलर २०० वा सो भन्दा कम विप्रेषण पठाउँदा लाग्ने लागतमा कमी ल्याउन सके विप्रेषण आप्रवाहलाई औपचारिक माध्यमतर्फ आकर्षित गर्न थप योगदान पुग्नसक्ने उल्लेख छ। विश्वको विप्रेषणको औसत लागत ६.८४ प्रतिशत रहेकोमा नेपालको औसत लागत भने सो भन्दा कम रहेको छ।