भोलिदेखि एक सातासम्म देशैभर लकडाउनको निर्णय

Health-Education News

कोरोना भाइरसको महामारी नियन्त्रणका लागि भोलि मंगलबार बिहान ६ बजेदेखि देशैभर ‘लक डाउन’ गरिने भएको छ । मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गतेसम्मका लागि ‘लक डाउन’ गरिएको छ ।

कोरोना नियन्त्रण गर्न ईश्वर पोखरेलको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिको सोमबार साँझ बसेको बैठकले पूर्ण रुपमा ‘लक डाउन’ गर्ने निर्णय गरेको हो ।

‘लक डाउन’को समयमा सार्वजनिक सवारी साधन बन्द हुनेछ। आन्तरिक उडान रोकिनेछ। सुरक्षाकर्मी, स्वास्थ्यका कर्मचारी र अत्यावश्यक सेवाका कर्मचारी मात्र हिँडडुल गर्न पाउनेछन्।

सरकारको निर्णयहरु :

औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर ननिस्कने

अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बोहक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुबाहक सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाउने

सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरु बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने

स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन फोहोरमैला व्यवस्थापन जस्ता अतिआवश्यक सेवा बोहक अन्य कार्यालय सञ्चालनको लागि आवश्यक पर्ने कर्मचारीहरु मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरुलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बनिधत कार्यालय प्रमुखले बिदा दिने

औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, ईन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट संचालित कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरूलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने,

व्यवसायीहरुले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने । अभाव देखाइ मुल्य वृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लुकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानून बमोजिम नियन्त्रणमा लिने, सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने ।

संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा (२) बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नको लागि आवश्यक व्यवस्था मिलाउन नेपाल राज्यका सबै प्रमुख जिल्ला अधिकारीलाई मुकरर गर्ने र सोका लागि स्थानीय प्रशासन ऐन, २०२८ को समेत आवश्यकता अनुसार प्रयोग गर्ने,

 संक्रामक रोग ऐन, २०२० अन्तर्गत जारी आदेशको अपहेलना गर्ने वा काममा वाधा पुन्याउने व्यक्तिलाई सोहि ऐन बमोजिम सजाय हुने ।

प्रमुख निर्णयहरुः

१. माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यूको
संयोजकत्वमा गठित कार्यदलबाट प्रस्तुत कोरोना भाइरस (COVID-19) सम्बन्धी क्वारेन्टाइन व्यवस्थापन मापदण्ड २०७६ स्वीकृत गर्ने,

२. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा आजै देखि बलम्बु सशस्त्र प्रहरी बल, नेपालको अस्पतालबाट COVID-19 को रोकथाम, नियन्त्रण र उपचार सम्बन्धी कार्य नेपाली सेनाका चिकित्सकहरुको समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र आवश्यकता अनुसार सरकारी, सामुदायिक र निजी क्षेत्रका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरु परिचालन गरी शुरु गर्ने । यसका लागि रक्षा मन्त्रालय, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र अर्थ मन्त्रालयले आवश्यक समन्वय गर्ने ।