गथांमुग: चर्‍हे ( पिशाच चतुर्दशी / घण्टाकर्ण चतुर्दशी)

News
उपत्यकाका नेवा: समुदाय, एक विशिष्ट पहिचान बोकेका समुदाय हुन्। आफ्नै भेष, भाषा, रितिरिवाज, परम्परा र संस्कृति बोकेका यस समुदायले हरेक औंसी तथा पुर्णिमालाई आत्मसात गरेर केही न केही पर्व मनाउने गर्दछन्। यसै पर्वहरु मध्ये एक महत्वपूर्ण पर्व हो, गथांमुग: चर्हे! हरेक वर्ष नेपाल सम्वतको ९ औं महिना दिल्लामा, दिल्लागा: चर्हेको दिन मनाइने यस पर्व प्राय: हरेक नेवा: बस्तिमा मनाइन्छ। वि.सं अनुसार हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीको दिनमा मनाइन्छ।
यस दिन दोबाटो तथा चौबाटोमा नर्कट बाँस ( न्हाय्पँ कथि) तथा पराल वा छ्वालीको तीन खुट्टे मानव आकृती जस्तै बनाई ठड्याइन्छ। यसलाई नै गथांमुग: ख्या भन्ने गरिन्छ अर्थात् भूत भन्ने गरिन्छ। आफ्नो घरभित्र भएका सामान, औँठी तथा पुतली खेलौनाहरुलाई यसै ख्यालाई छुवाएर घर भित्र लाने चलन छ, यसो गरेमा ती सामानलाई भूतप्रेतले आफ्नो वशमा पार्न नसक्ने विस्वास गरिन्छ।यसै दिन घरलाई शुद्ध गरि, घरभरी पराल वा छ्वालीमा आगो बाली, घरभरी घुमाइ, त्यसलाई नजिकैको दोबाटो वा चौबाटोमा लागि छोड्ने चलन छ।साँझ परेपछी भने, बाटोमा ठड्याइएको गथांमुग: ख्यालाई अन्तिम पटक विधिवत पूजा गरिन्छ र त्यसलाई पिट्ने वा लात हान्ने गरिन्छ, यसपछी ठाउँ अनुसार कतै जलाइन्छ भने कतै घिसार्दै लगेर नदिमा बगाइन्छ। यसपछीको मुख्य काम भनेको `बौ तयेगु´ चलन हो। हरेक घरबाट राती पूजा गरी, माटोको कटौरामा कोइला, मासु,चामल,नङ, कपाल,फूल आदि इत्यादी हाली एउटा बत्ती बालेर जुत्ता नलगाई, नबोलिकन दोबाटो चौबाटोमा हाल्न लगिन्छ। बौ हालेर आइसकेपछी घरको मूल ढोकामा विशेष गथांमुग स्वाँ ( एक प्रकारको फूल) राखी पूजा गरिन्छ र ३ खुट्टे फलामको किल्ला ठोकेर सबै जना भित्र छिर्ने गर्दछन् र यसपछी ढोका लगाइन्छ। यसरी भूत पन्छाएर ढोका लगाइसकेपछी, भोलिपल्ट बिहानसम्म खोल्न नहुने मान्यता रहेको छ।
यो प्रचलनको बारे विभिन्न किंवदन्तीहरु रहेको पाइन्छ। देशबाट भूत पिशाचहरुलाई हटाउन मनाइने यस पर्वको सम्बन्ध रोपाइँ सँग रहेको पाइन्छ। कुनैबेला उर्वर भूमी र कृषिको लागि चिनिने उपत्यकामा रोपाइँको चटारो एकदमै हुने गर्दथ्यो। वर्षभरी खानलाई पुग्ने अन्न फलाउन मरिमेटी काम गर्ने भएकोले रोपाइँलाई सिनाज्या भनिएको हो। मानिसलाई रोपाइँको चटारोले हम्मे हम्मे पर्ने गर्दथ्यो र यसैले नै भूत प्रेतको सहायताले रोपाइँ गर्ने गरिन्थ्यो। भूतप्रेतले काम छिटो गर्ने र सघाउने हुनाले उनिहरुलाई आहवान गर्नका लागि अक्षया तृतियाको दिनमा बौ पुजा गरेर सहर तथा घरमा बोलाउने गरिन्थ्यो र रोपाइँको अविधिमा मज्जाले खान र काम गराइन्थ्यो।तर, भूतप्रेत भनेको जति खाएपनी नअघाउने र सन्तुष्ट नहुने भएकोले वर्षभरी राख्न सकिन्नथ्यो, त्यसैले उनिहरुले दु:ख दिन थालेपछी, तान्त्रिक विधिले वशमा पारी सहरबाट हटाउने, भगाउने गरिन्थ्यो। सोहि हटाउने प्रचलन र विधि नै गथांमुग: मानिन्छ।
यस दिनलाई औँठी लगाउने दिनको नामले पनि चिनिन्छ भने स्थानिय भाषामा ` अंगु चर्हे ´ पनि भनिन्छ। यस दिन गथांमुग: ख्यालाई छुवाएर तामा तथा फलामको औँठी लगाएमा भूतप्रेतले दु:ख नदिने जनविश्वास गरिन्छ। यसै गरि यस दिन नेवा: समुदायका महिलाले ` लैंचा छिगु´ भनेर मेहेन्दी लगाउने प्रचलन पनि रहेको छ। आजभोली बजारमा पाइने हेन्ना मेहेन्दी लगाएपनी परम्परागत रुपमा भने चिउरीको बोटलाई निचारी त्यसको लेप र रस लगाउने चलन छ। यसरी पूजा आजा गरि, भगाइएका निकालिएका भूतप्रेतहरुलाई ललाइफकाइ गरि, कुविद्या तथा बोक्सी विद्या सिकिरहेकाहरुले आफ्नो वशमा पार्दछन् भन्ने जनविश्वास पनि गरिन्छ।
गथांमुग: भनेको दोबाटो वा चौबाटो अथवा, हरेक टोल बस्तिमा भूत, प्रेतलाई छुट्टाएर राखेको क्षेत्र हो। विभिन्न ठाउँको नामहरुको अन्त्यमा रहेको शब्दबाट नै गथांमुग भनिएको मानिन्छ जस्तै, चिकंमुग:, नौमुग:, प्यंगथां, चाग, त्याग, सौग, आदि । हाल यस गथांमुग: ख्यालाई घण्टाकर्णको रुपमा पनि बुझ्ने गरिन्छ।गथांमुग: ख्या र घण्टाकर्ण एकै हो वा फरक हो भन्ने कुरामा मतभेद रहेको पाइन्छ तथापी, घण्टाकर्णलाई काशीको मणिकर्निकामा बस्ने ठूला आँखा भएको, अजंगको शरीर भएको, कानमा घण्टको कुण्डल लगाउने भयंकर राक्षस मानिन्छ।
लेख साभार : Frannkey Franz