पशुपतिमा कलिको मूर्तिमाथि आक्रमण, कोष अनभिज्ञ !

News

काठमाडौं : पशुपतिनाथ मन्दिरको पूर्वी ढोकाबाट वाग्मती किनार नजिकै रहेको आधा शरीर जमिनमुनि गाढिएको ढुंगाको मूर्तिलाई कलिदेवताका रुपमा चिनिन्छ।

कलियुगको समय जति छिप्पिन्छ त्यति नै यो मूर्ति जमिनबाट माथि आउने जनविश्वास छ। जब कलिको पूरै मूर्ति माथि आउँछ तब कलियुगको अन्त्य हुने कथन छ। कलिको मूर्ति नेपालको सबैभन्दा पुरानो मूर्ति रहेको समेत बताइन्छ। यही मूर्तिमाथि यसै महिना एक महिलाले आक्रमण गरिन्।

मन्दिरभित्र पसेर ती महिलाले मूर्तिमाथि तोडफोडको प्रयास गरिन्। सामाजिक संजालमा अपलोड गरिएको एक भिडियोमा गुलाबी रंगको कुर्ता लगाएकी महिलाले मन्दिरभित्र छिरेर मूर्तिमाथि प्रहार गरेको देखिन्छ। ती महिलाले मूर्तिको टाउको र शरीरमा आक्रमण गरेकी थिइन्। मन्दिर बाहिर रहेका मानिसहरुले भने उनलाई त्यसो नगर्न भनिरहेका थिए,  मूर्तिमाथि आक्रमण गरेपछि महिला मन्दिरबाट निस्किएर हिँडिन्।

आर्यघाटसँगै जोडिएको अनि पशुपति क्षेत्रको सबैभन्दा महत्वपूर्ण स्थानमा भएको उक्त घटनाबारे पशुपति क्षेत्र विकास कोष भने अनभिज्ञ रहेको पाइयो।

प्राय जसो यस मन्दिरको ढोका बन्द रहने गर्छ। ताल्चा लगाएर बन्द हुने ढोकामा महिला कसरी सहजै प्रवेश गरिन् त?

भिडियो सार्वजनिक भएपछि ती महिलालाई कारवाही गर्नुपर्ने र मूर्तिको सुरक्षा गर्नुपर्ने माग उठिरहेको छ।

आक्रमणबाट मूर्तिलाई भने केही नभएको  बताइएको छ ।