तत्काल लकडाउन हुँदैन : सरकार

Health-Education

३ लाख ८२ हजार ४ सय ९ जनाको पीसीआर परीक्षण गर्दा २० हजार ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एकपटक कम भएको संक्रमण दर पुनः बढ्दै गएपछि सर्वसाधारणमा कोरोना चिन्ता थपिन थालेको छ । चैत ११ गतेदेखि नेपालमा सुरु भएको लकडाउन साउन ६ गते अन्त्य भएको थियो । लकडाउन अन्त्य भएसँगै आर्थिक गतिविधि सुरु भइरहेकाबेला संक्रमितहरु बढ्दै गएपछि पुनः लकडाउन हुने हो कि भन्ने चिन्ता थपिएको हो । सरकारले भने लकडाउन संक्रमण, रोकथाम र उपचार नियन्त्रणभित्रै रहेसम्म पुनः लकडाउन गर्ने मनस्थिति बनाएको छैन । ‘अहिले नै लकडाउन गर्नेबारे मनस्थिति नबनाएको ’ कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)’ का सचिव महेन्द्रप्रसाद गुरागाईंले सरकारी संचार माध्यमलाई जानकारी दिएका छन्। , ‘अहिले कोरोना नियन्त्रण बाहिर गएको छैन ।’ सरकारले सर्वसाधारणले सचेतता अपनाए संक्रमण केही दिनमै घट्ने अनुमान गरेको छ । तर, खोलिएका सेवा क्षेत्रमा सर्वसाधारणले सचेतता अपनाएका छैनन् । साउन १५ देखि खोलिएको होटल रेस्टुरेन्टमा भीडभाड लाग्न सुरु भएको छ । सार्वजनिक यातायातमा पनि सुरक्षा विधि पालना गरिएको छैन । ‘रेस्टुरेन्टमा खानेकुरा घरमै लैजानेमात्रै व्यवस्था गरिएको हो,’ गुरागाईंले भन्नुभयो, ‘रेस्टुरेन्टमा अनावश्यक भीडभाड बढेकाले त्यसलाई रोक्न पर्यटन मन्त्रालयलाई पत्राचार गरेका छौं ।’

सार्वजनिक यातायातमा आधा सिटमा मात्रै यात्रु राखेर सञ्चालन गर्न अनुमति दिए पनि गाडीभरी यात्रु राख्ने गरेको अनुगमनमा भेटिएको छ । सरकारले ३० मिनेटसम्मको दुरीमा पैदलै यात्रा गर्न वा निजी सवारी भए त्यसको प्रयोग गर्न भनेको छ ।

लकडाउन नगरी कोरोना रोकथाम र नियन्त्रणका लागि दैनिक पीसीआर टेस्टको दर वृद्धि गर्ने, भारतबाट आउनेलाई बोर्डरमै क्वारेन्टाइनको व्यवस्था गर्ने, जोखिमयुक्त रहेका क्षेत्रमा स्वाब संकलनलाई तीब्रता दिने काम भइरहेको छ । रातको समयमा काठमाडौं आउजाउ रोक्ने, एकजनाको पास लिएर पाँच जनासम्म यात्रा गर्ने, संक्रमित क्षेत्रबाट आउजाउ गर्न पास नदिने, संक्रमित देखिएका क्षेत्र ब्लक गरेर स्वाब परीक्षणलाई तीब्रता दिने काम सरकारले गरिरहेको छ ।

भदौ १ देखि लागू हुने निर्णय यथावत्

सरकारले भदौ १ गतेदेखि लागू हुने गरी खुलाउने भनिएका सेवा र व्यवसायबारे साउन ५ गतेको मन्त्रिपरिषद्ले गरेका निर्णयहरु यथावत् नै रहेको जनाएको छ । भदौ १ गतेदेखि छोटो, मध्य र लामो दूरीका जिल्ला र अन्तर जिल्ला सञ्चालन हुने यातायात, आन्तरिक र अन्तर्रािष्ट्रय उडान, खेलकुद प्रशिक्षण र विद्यार्थी भर्ना खुला गर्ने निर्णय भएको थियो ।