गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ । टाउको भने तीन सय मिटर टाढा भेटिएको छ । शवको पहिचान भएको छैन ।
घटनास्थलमा प्रहरीसँगै लगिएको कुकुरले शव भेटिएको ठाउँभन्दा ३०० मिटर टाढा जेब्रा झोलामा कालो प्लास्टिकले बेरिएको अवस्थामा टाउको र खुट्टा भेट्टाएको हो ।
आज विहान ७ बजे टोखा १० स्थित नवज्योती मार्गको सडक खण्डको छेउमा कालो सुटकेस भित्र कालो प्लाष्टिकले बेरिएको अवस्थामा शव फेला परेको थियो ।
गणेशस्थान मन्दिरबाट एक सय मिटर भित्र, पानीले भिजेपछि रगत बगेको देखेर प्रहरीलाई खबर आएपछि प्रहरी घटनास्थल पुगेर अनुसन्धान थालेको हो ।
अनुसन्धानका क्रममा प्रहरीले अहिलेसम्म अन्दाजी ४० ४५ वर्षका पुरुष रहेको र उनले सेतो भित्री गञ्जी लगाएको पत्ता लगाएको छ ।
घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको छ ।