सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु हुने १९ जनाको शव निकालिएको छ । पहिरोमा परेर अझै २० जना विपत्ता रहेका छन् । उद्धारमा खटिएको नेपाली सेनाका अनुसार मृत्यु हुने १९ जनाकै सनाखत भएको छ ।
सेनाका अनुसार हालसम्म ४ जना महिला, ३ जना पुरुष, ५ जना बालिका र ७ जना बालक गरि जम्मा १९ जनाको शव फेला परेको जनाएको छ । नेपाली सेनाद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, “उक्त पहिरोमा परि हराइरहेको २० जनाको खोजी कार्य जारी राखेको छ।”
लिदीमा गत शुक्रबार बिहान ६ः३० बजे पहिरो गएको थियो । पहिरोले ३७ घर पुरेको थियो । पहिरो गएपछि सेनाको गोरखबक्स गणको खोज तथा उद्धार टोलीले सशस्त्र प्रहरी बल नेपाल, नेपाल प्रहरी, स्थानीय बासिन्दा र अन्य निकायहरुको सहयोगमा उद्धार तथा खोज कार्य शुरू गरेको थियो ।
“साउन ३० र ३१ गते नेपाली सेनाको एमआई–१७ हेलिकप्टरद्वारा खाद्यान्न, लत्ता कपडा, पाल लगायत अत्यावश्यक राहत सामाग्री ढुवानी गरी उक्त स्थानमा पुर्याइएको छ,” विज्ञप्तिमा सेनाले उल्ले खरिएको छ ।
स्थानीय प्रशासन, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय वासिन्दालगायत अन्य निकायसँग निरन्तर समन्वय र सहकार्य गरी नेपाली सेनाका ४७ जना खोज तथा उद्धार कार्यमा खटिएको सेनाले जनाएको छ ।