प्रधानमन्त्री केपी शर्मा ओलीको टिमभित्र राम जन्मभूमि र लगानी बोर्डमा सुशील भट्टको नियुक्तिलाई लिएर तिब्र विवाद भएको बुझिएको छ।
प्रधानमन्त्री निकट श्रोतका अनुसार प्रधानमन्त्री ओलीले राम नेपालमै जन्मिएका हुन् भन्ने विचार सार्वजनिक गर्न खोजेपछि प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा र परराष्ट्र सल्लाहकार राजन भट्टराईले विरोध गरेका थिए। उनीहरुले प्रधानमन्त्री ओलीकै सामु यो विषय बोल्नु घातक हुने बताएका थिए।
प्रधानमन्त्रीले राम नेपालमा जन्मिभएका हुन् भनेपछि विष्णु रिमालले आफू निकट मिडियाका केही सम्पादकहरुलाई बोलाएर यो विषयलाई धेरै नउछाल्न भनेका थिए।
त्यसैले विष्णु रिमाल निकट मिडियाहरुले राम नेपालमा जन्मिएका हुन् भन्ने विषयमा खासै अभियान चलाएनन्। विष्णु रिमाल तथा उनको टिमले राम जन्मभूमि नेपालमा हो भन्ने सम्बन्धी लेख तथा समाचारहरु पनि शेयर गरेको देखिएन।
प्रधानमन्त्री निवास स्रोतका अनुसार प्रधानमन्त्रीले राम नेपालमा जन्मिएका हुन् भनेपछि विष्णु रिमालले ‘डुबाए बुढाले’ भन्ने टिप्पणी बालुवाटारमै गरेका थिए। प्रधानमन्त्रीले माडीका जनप्रतिनिधिहरुलाई बोलाएर भेटेको पनि विष्णुलाई चित्त बुझेको थिएन।
माडीका जनप्रतिनिधि भेट्न आउँदैछन् भन्ने विष्णुले केही घन्टा पहिले मात्र थाहा पाएका थिए । ‘पहिले नै थाहा पाएको थिएँ भने यो भेटघाट रोकिदिन्थें’ भनेर रिमालले बालुवाटारमा भनेका थिए।
श्रोत भन्छ, माडीका जनप्रतिनिधिहरुले प्रधानमन्त्रीसँग भेटेपछि विष्णु रिमालले त्यहाँका मेयर ठाकुर ढकाललाई भेटेर ‘यो विषयमा विचार पुराएर मात्र बोल्नुस् है’ भनेर सुझाव दिएका थिए। विष्णुको सुझाव अनुसार मेयर ढकालले राम जन्मभूमिबारे तौलीतौली बोल्न थालेका छन्।
यसै बीच प्राप्त जानकारी अनुसार लगानी बोर्डमा सुशील भट्टको नियुक्ति रोक्ने अर्थतमन्त्री युवराज खतिवडा, विष्णु रिमाल, इन्द्र भण्डारीको प्रयास सफल भएन। सुशीललाई लगानी बोर्डमा ल्याउँदा सरकार झन् बदनाम हुन्छ भन्ने उनीहरुको भनाई थियो । तर, प्रधानमन्त्री ओलीले उनीहरुको कुरा सुनेनन्।
श्रोतका अनुसार गुरु भट्टराई नामका मानिसलाइ रेल विभागमा नियुक्त गरेकोमा पनि अर्थमन्त्री खतिवडा र सल्लाहकार रिमाललाई चित्त बुझेको छैन। ‘प्रधानमन्त्रीले गलत काम गर्दा हामीले ढाकछोप कसरी गर्ने ?’, रिमालको भनाई छ।