एसईईको नतिजा सार्वजनिक

Health-Education

राष्ट्रिय परीक्षा बोर्डले  २०७६ सालको माध्यमिक शिक्षा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले नतिजा प्रमाणीकरण गर्ने निर्णय गरेसँगै नतिजा प्रकाशित गरिएको हो । गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो ।

विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय ईकाई मार्फत बोर्डमा पठाएका थिए । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालयले नतिजा तयार पारेर एक साता अघि नै बोर्डलाई बोर्डलाई बुझाएको थियो । बोर्डले प्रमाणीकरण गरेसँगै नजिता प्रकाशित गरिएको परीक्षा नियन्त्रक रामराजा खकुरेलले जानकारी दिनुभयो ।

यो वर्ष बोर्डले ग्रेड सार्वजनिक नगरिने नियन्त्रक खकुरेलले बताउनु भयो  । “स्कुलले नै नतिजा तयार पारेर हामीलाई दिएको हो। हामीले त नियमानुसार प्रमाणीकरण मात्र गरिदिएका हौं,” नियन्त्रणक खकुरेलले भने, “अब विद्यार्थीले वेबसाइटबाट मात्र आफ्नो ग्रेड हेर्न सक्नेछन् ।”

कोरोना महामारीका कारण विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा नतिजा तयार पारिएको थियो । त्यसका लागि मन्त्रिपरिषद्को बैठकले विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा तयार पारिएको नतिजालाई बोर्डले राष्ट्रिय मान्यता दिने निर्णय गरेको थियो ।

गत जेठ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक मूल्यांकन आधारमा विद्यालयले नै मूल्यांकन गर्ने र बोर्डले मान्यता दिने निर्णय गरेको थियो । सोही आधारमा विद्यालयहरूले मूल्यांकन गर्दै उक्त नतिजा बोर्डलाई पठाइएका थिए ।

त्रुटि सच्याउन चाहने विद्यार्थीले अब बोर्डमै जानुपर्ने बाध्यता भने हटेको छ । यस वर्ष विद्यार्थीले नतिजा प्रकाशित भएको ३५ दिनभित्र फारम भरेर शिक्षा, विकास तथा समन्वय इकाइमा पठाएको खण्डमा इकाइबाटै त्रुटि सच्याउन सकिने परीक्षा नियन्त्रक खकुरेलले बताउनु भयो ।

नतिजा कसरी हेर्ने ?

प्रकाशित नतिजा हेर्नका लागि विभिन्न विधि अपनाउन सकिनेछ ।

नेपाल टेलिकमका ग्राहकहरूले १६०० डायल गरेर नतिजा हेर्न सक्नेछन् । त्यस्तै नेपाल टेलिकमको वेबसाइट, परीक्षा नियन्त्रण कार्यालय तथा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमार्फत् पनि नतिजा हेर्न सकिनेछ ।