राष्ट्रकविको अन्तिम गीत

News

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफू बितेपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराउनुभएको ‘त्यसरी होओस् मरण…’ बोलको श्रव्य सामग्री राससलाई प्राप्त भएको छ ।

हिजो साँझ १०१ वर्षका उमेरमा दिवङ्गत राष्ट्रकवि घिमिरेले उक्त गीत आफू बितेपछि परिवारले सुन्न र सबै सञ्चारमाध्यमलाई उपलब्ध गराइदिन आग्रह गरी छोरी शान्ति अधिकारीको परिकल्पना र सङ्गीतमा पहिल्यै रेकर्ड गराउनुभएको थियो । गीतमा कर्ण दासको स्वर र छ ।

राष्ट्रकविको गीतः
“त्यसरी होओस् मरण
जसरी सुत्छन् तारमा गीतका चारु चरण
हिमालचुली देशमा, दिनको शान्त भेषमा
जसरी गर्छन् विश्राम, सूर्यका स्वर्ण किरण
त्यसरी होओस् मरण ।।

सुन्दर सृष्टि निहारी, सुखैले चिम्लूँ नयन
बिहानीपख रातको, कुसुम पारिजातको
जसरी जान्छ झरेर, भुइँमा विनापवन
त्यसरी होओस् मरण ।।

मुटुमा चोट नपरी, टुटेर जाओस् बन्धन
बादलको सेतो राशमा, दुइटा मूर्ति पासमा
जसरी शिर नुहाई, आफैंमा हुन्छन् अर्पण
त्यसरी होओस् मरण ।।