वैशाखमा शुरु हुनपर्ने विद्यालयस्तरीय शैक्षिक सत्र कोरोना संक्रमणको कहरका कारण अझै शुरु हुन सकेको छैन । चैतमै परीक्षाको तयारी गरिरहेका विश्वविद्यालयस्तरका विद्यार्थी पनि अन्योलमा छन् । तर पनि सरकारले पढाइ र परीक्षा अघि बढाउने विषयमा ठोस निर्णय लिन सकेको छैन । कोरोना संक्रमणका कारण मुलुकका हरेक क्षेत्र प्रभावित छन् । सबै क्षेत्र अस्तव्यस्त भएको सन्दर्भमा शिक्षा क्षेत्र पनि यसबाट अछूतो छैन । परीक्षाको तयारीमा रहेका विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थी कोरोनाको कहरले चैतमा लकडाउन शुरु भएसँगै मारमा परेका छन् । यसैगरी वैशाखमै शुरु हुनुपर्ने विद्यालयको शैक्षिक सत्र पाँच महिना बित्नलाग्दा समेत अन्योलमा रहेको छ । सरकारले भनेको अनलाइन कक्षा पनि प्रभावकारी बन्न सकिरहेको छैन । पढाइ कसरी अगाडि बढाउने भन्ने विषयमा सरकार आफैँ अन्योलमा देखिएको छ ।
विज्ञ भने सरकारकै कारण शैक्षिक सत्र खेर जान लागेको तर्क गर्छन् । यस्तो प्रतिकूल अवस्थामा किताबी ज्ञानभन्दा व्यावहारिक विषयवस्तुलाई जोड दिनुपर्ने उनीहरूको भनाइ छ ।
शिक्षा क्षेत्रमा आबद्ध व्यक्ति भने कोरोनाको बहाना बनाएर शैक्षिक सत्र खेर जान दिन नहुने धारणा राख्छन् । त्यसैले अनलाइन शिक्षालाई प्रभावकारी बनाउनुपर्ने उनीहरूको भनाइ छ ।
कोरोना संक्रमणको जोखिम, लकडाउन र निषेधाज्ञाका शैक्षिक सत्र आधा गुज्रिन लागिसकेको छ । यस्तै विभिन्न तहका परीक्षा प्रभावित भएका छन् । संक्रमण कहिलेसम्म रहन्छ भन्ने यकिन नभएका कारण ठोस योजना बनाएर वैकल्पिक माध्यमबाट पढाइ र परीक्षा अघि बढाउनुपर्ने देखिन्छ ।