उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफूले पदीय हैसियतको दुरुपयोग गरी कुनै पनि नातेदारलाई पद नदिलाएको दाबी गरेका छन्।
राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति सदस्यमा पोखरेलका सम्धी उपेन्द्र कोइराला नियुक्त भएपछि प्रकाशित प्रशारित समाचारप्रति खण्डन गर्दै पोखरेलले त्यसमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका हुन्।
कोइरालालाई बुधबार सञ्चालक समितिको बैठक बसेर अध्यक्ष बनाउने तयारी भए पनि चौतर्फी विरोध भएपछि बैठक नै रोकिएको बताइएको छ।
उनले कोइरालाको नियुक्तितर्फ संकेत गर्दै विधिसम्मत, पारदर्शिता रुपमै नियुक्ति भएको प्रष्ट पारेका छन्।
‘मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन, पोखरेलले अगाडि भनेका छन्,
‘भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन्। कहीँकतै पनि मेरो अबाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु।’
पोखरेलका सम्धी कोइरालाले छैठौैंपटक उच्च तहको सरकारी नियुक्ति भाएपछि सत्तारुढ नेकपाभित्र र बाहिरबाट समेत चर्को विरोध भइरहेको छ। कोइराला पोखरेलका छोराका ससुरा हुन्।