अश्वेत नागरिकमाथि गोली प्रहार गरेको भन्दै अमेरिकामा प्रदर्शन तीव्र

International

अमेरिकाको केनोसामा २९ वर्षिय अश्वेत व्यक्ति ज्याकुब ब्लेकमाथि प्रहरीले गोली प्रहार गरेको विरोधमा सुरु भएको प्रदर्शन चर्किएपछि थप सेना परिचालन गरिएको छ ।

प्रदर्शनकै क्रममा दुईजना प्रदर्शनकारीको मृत्यु भएलगत्तै प्रदर्शन झन् बढेको हो ।

अमेरिकाको केनोसामा प्रदर्शनकारीहरुले ठाउँ ठाउँका सरकारी सम्पतिमा आगजनी गर्नुका साथै पसलहरुमा लुटपाट गरेको भन्दै थप सेना परिचालन गरिएको हो ।

केनोसामा हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरुले प्रदर्शन जारी राखेकै बेला प्रहरीले धरपकड गरेसँगै प्रदर्शनकारी र सेनाबीच झडप भएको छ । प्रदर्शनकारीहरुले सुरक्षाकर्मीमाथि पेट्रोल बम समेत प्रहार गरेका छन् ।

शान्तिपूर्ण आन्दोलन दवाउन सेना परिचालन गरेको भन्दै प्रदर्शकारीले सरकारविरुद्ध नाराबाजी समेत गरेका छन् ।

प्रहरीले गत आइतबार २९ वर्षीय ज्याकुब ब्लेकलाई ७ राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिएसँगै प्रदर्शन चर्किएको हो ।

ब्लेक हाल अस्पतालमा रहेको र उनको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।