baba ramdev

रामदेवको पतञ्जलीलाई १० लाख भारु जरिवाना

International

भारतको दक्षिणी राज्य तमिलनाडुस्थित मद्रास हाइकोर्टले हालै योगगुरु रामदेवको कम्पनी पतञ्जलीलाई १६ लाख रूपैयाँ (१० लाख भारु) जरिवानाको निर्णय सुनाएको छ । पतञ्जलीले मानिसमा प्रतिरक्षा प्रणाली बलियो बनाउने र कोरोनाविरुद्ध लड्न सक्ने भनी ‘कोरोनिल’ बिक्रीवितरण थालेको थियो ।

कोरोनाले मानिस त्रसित भइरहेका बेला बिना परीक्षण औषधि ल्याएको र प्रचारप्रसार गरेको भन्दै अदालतले पतञ्जलीलाई जरिवाना गरेको हो । अदालतले यसअघिको अन्तरिम आदेशमा रोक लगाउँदै पतञ्जलीले कोभिड–१९ विरुद्ध ल्याएको भनिएको कोरोनिल शब्द प्रयोग नगर्न तथा औषधि बिक्रीवितरण बन्द गर्न आदेश दिएको छ ।

चेन्नईस्थित अरुद्र इन्जिनियर्स प्राइभेट लिमिटेडले ट्रेडमार्क नियम उल्लंघन गरेको भन्दै कोरोनिल नाममा मुद्दा दायर गरेको थियो । उक्त कम्पनीले यसअघि नै उक्त नाम प्रयोग गर्दै आएको थियो । अरुद्रले दशकअघिदेखि नै औद्योगिक सरसफाइमा प्रयोग हुने कोरोनिल–२१३एसपीएल र कोरोनिल–९२बी उत्पादन गर्दै आएको थियो ।

अदालतले ठूलो लगानीमा चलिरहेको कम्पनीको उत्पादनको जस्तै नाम राखेर अर्को वस्तु बनाउनु र कोरोनाका डर देखाएर बिनापरीक्षण तथा अनुसन्धान नै नगरी औषधि बजारमा लैजानु गैरकानूनी काम भएको बताएको छ ।

कोरोनिल ट्याब्लेट कुनै अचुक औषधि नभई केवल रुघाखोकी र ज्वरोविरुद्धको प्रतिरक्षा बुस्टर रहेको बताइएको छ। पतञ्जलीलाई तोकिएको जरिवाना अगस्ट २१ अगावै भुक्तान गर्न वा अगस्ट २५ भित्र यसविरुद्ध ज्ञापन दिन आदेश दिइएको छ ।