विद्युतीय माध्यमद्वारा सञ्चालन गरिने व्यापारका लागि सरकारले कानुन बनाउने तयारी थालेको छ । मन्त्रिपरिषद्को बैठकले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ई–कमर्ससम्बन्धी विधेयक बनाउन सैद्धान्तिक स्वीकृति दिएको हो ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता मन्त्री युवराज खतिवडाले विद्युतीय माध्यमद्वारा सञ्चालन गरिने व्यापारसम्बन्धी विधेयक तर्जुमाका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइएको जानकारी दिए ।
मन्त्रालयले तयार पार्ने विधेयक मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि संसद्मा पेस हुनेछ । नेपालमा पछिल्लो समय दर्जनौं ई–कमर्स खुले पनि यसबारे कानुनी स्पष्टता भने छैन । कोभिड–१९ को महामारीका कारण पछिल्ला महिना ई–कमर्सप्रति उपभोक्ताको आकर्षण पनि छ । घरमै बसेर सामानको अर्डर गर्न पाइने र घरमै आइपुग्ने भएकाले आगामी दिनमा ई–कमर्स व्यवसाय झन् बढ्ने अनुमान छ ।