रोनाल्ड कोम्यानले बार्सिलोनाको प्रशिक्षण सुरु गरेका छन् । नयाँ प्रशिक्षकको रुपमा नाउ क्याम्प सम्हाल्न आइपुगेका कोम्यानले बार्सिलोनाको प्रशिक्षण सुरु गरेका हुन् । बार्सिलोनाको पहिलो दिनको प्रशिक्षणमा लियोनल मेसी भने उपस्थित भएनन् । क्लबसंग मेसीको विवाद जारी छ । क्विक सेटियन बर्खास्तमा परेपछि बार्सिलोनाले डच प्रशिक्षक कोम्यानलाई नाउ क्याम्पको जिम्मेवारी दिने निर्णय गरेको थियो । उनको पहिलो सत्रमा कप्तान तथा मुख्य खेलाडी मेसी अनुपस्थित रहे ।
अन्य खेलाडीलाई समावेश गर्दै कोम्यानले बार्सिलोनको प्रशिक्षण अघि बढाएका हुन् । प्रशिक्षणमा जेरार्ड पीके बलअघि बढाईरहेको देखिन्थे भने उसमान डेम्बेले नयाँ जर्सीमा अभ्यास गरेका थिए । मेसीले क्लबलाई फ्याक्समार्फत पत्र लेख्दै आफुले बार्सिलोना छाड्न चाहेको बताएका थिए । उनले पहिलो दिनको मेडिकल परीक्षण समेत अस्विकार गरेका थिए ।
प्रशिक्षणमा अनुपस्थित रहेका मेसीलाई बार्सिलोनाले अहिलेसम्म आर्थिक जरिवानाको निर्णय सुनाएको छैन । लगातार तीन दिन अभ्यास सत्रमा सहभागी नभएको खण्डमा खेलाडीलाई बिना तलब क्लबले निलम्बित गर्न पाउने नियम छ । ला लिगा र स्पेनिस खेलाडीबीच तीन दिनसम्म अभ्यासमा अनुपस्थित रहेको खण्डमा बिना तलब निलम्बन गर्न सक्ने र मासिक तलबबाट २५ प्रतिशत रकम कटौती गर्न मिल्नेछ ।