मंगलबार भरतपुर अस्पतालको आकस्मिक कक्षको दृश्य अरु दिनभन्दा फरक थियो । अस्पतालको आकस्मिक कक्षमा डा. सुजन अधिकारीको नेतृत्वमा दुई चिकित्सक, दुई नर्स र दुई पारामेडिक्स गरी ६ जना स्वास्थ्यकर्मीहरु डिउटीमा थिए ।
बिहान ७ बजेतिर पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नं. १३ की ५५ बर्षीया बिरामी महिला अस्पतालको आकस्मिक कक्षमा आइपुगिन् । उनमा दुई दिनदेखि उच्च ज्वरो र श्वासप्रश्वासको समस्या थियो ।
आकस्मिक कक्षका स्वास्थ्यकर्मीले अक्सिजनको सर्पोटमा उनको उपचार सुरु गरे । उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएकाले कोभिडको आंशका गरेर उपचार गरेको डा. सुजन अधिकारी बताउँछन् ।
उनलाई आइसीयू र भेन्टिलेटरमा राख्नुपर्ने अवस्था भएपनि अस्पतालभित्र न त आईसीयू खाली थियो, न भेन्टिलेटर । आकस्मिक कक्षका स्वास्थ्यकर्मीहरु जेनतेन अक्सिजनको सर्पोटमा बिरामी राखेर बचाउने प्रयासमा थिए ।
यहीवीच, बिहान ११ बजेतिर भरतपुर महानगरपालिका वडा नं. ११ की १८ बर्षीया युवतीलाई श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि परिवारका सदस्यले हतार-हतार आकस्मिक कक्षमा ल्याए । उनको अवस्था उस्तै जटिल थियो ।
बाहिरका निजी अस्पतालमा कतै पनि उपचार हुन नसकेपछि उनलाई भरतपुर अस्पतालमा ल्याइएको थियो । बाहिरको एक निजी अस्पतालमा छातीको एक्स-रे गराएर आइसीयूमा राख्नुपर्ने भन्दै बिरामीलाई यहाँ रिफर गरिएको थियो ।
उनको छातीको एक्स-रे हेर्दा चिकित्सकहरू छक्क परे । छातीमा कडाखालको निमोनिया देखिएको थियो । परिवारका सदस्यका अनुसार उनको एकदिन अघिसम्म अवस्था सामान्य थियो । केही समस्या थिएन । तर, अचानक स्वास्थ्य जटिल बनेको थियो ।
उनलाई पनि चिकित्सकहरूले अक्सिजनको सर्पोटमा राखे ।
दुईघण्टापछि दिउँसो १ बजेतिर भरतपुर महानगरपालिका वडा नं. ११ कै ६५ बर्षका अर्का बिरामीलाई आकस्मिक कक्षमा ल्याइयो । उनको अवस्था पनि अन्य दुईको जस्तै थियो ।
तीनैजनाको अवस्था आकस्मिक कक्षमा ल्याउँदा निकै गम्भीर थियो । श्वास-प्रश्वासमा धेरै कठिनाइ र रगतमा अक्सिजनको मात्रा निकै कम थियो । यीबाहेक आकस्मिक कक्षमा अन्य बिरामी पनि थिए । जनशक्ति सीमित थियो, अर्थात ६ जना ।
चिकित्सक र स्वास्थ्यकर्मीहरु के गर्ने के, कसो गर्ने अवस्थामा पुगे । ‘बाहिरका मेडिकल कलेजमा सम्पर्क गरेर पठाउन खोज्यौं, कसैले पनि आइसीयू र भेन्टिलेटर खाली छ भनेनन्, हाम्रो त खाली नै थिएन’ उपचारमा संलग्न डा. अधिकारीले भने, ‘यस्तो अवस्था भयो कि उनीहरूलाई कसरी बचाउने ? के गर्ने, के नगर्ने ?’
हठात् आएको आपत्ति
तीनैजना बिरामीका परिवारले दिएको ‘हिस्ट्री’ अनुसार उनीहरुमा केही दिनअघिसम्म खासै समस्या थिएन । तर, अचानक स्वास्थ्य बिग्रिएर उनीहरु जीवन मरणको दोसाँधमा पुगे ।
अस्पतालले पूर्ण अक्सिजन सर्पोटमा उपचार गर्यो । तर, आँखै अगाडि दुईघण्टाको फरकमा तीनैजना बिरामीले आकस्मिक कक्षमा प्राण त्यागे ।
दिउँसो १.३० बजे भरतपुर-११ का ६५ बर्षका पुरुष, १.४५ बजे खैरहनी १३ की ५५ बर्षीया महिला र ३.३० बजे भरतपुर-११ की १८ बर्षीया युवतीको ज्यान गयो ।
‘हामीलाई अचम्म भयो, हदप्रद बन्यौं, दिमागले केही सोच्नै सकेन, एकाएक तीनैजनाको अथक प्रयास गर्दागर्दै आँखै अगाडि मृत्यु भयो’ डा. अधिकारीले भने, ‘एक चिकित्सकका लागि यस्तो अति नै दुःखद परिस्थिति मैले जीवनमा पहिलोपटक भोगें, सक्ड भएँ ।’
आकस्मिक कक्षमा रुवावासी सुरु भयो । तीनजनाका परिवारका सदस्यहरूको रूवाबासीले आकस्मिक कक्ष कारूणिक बन्यो । एक दुई जनाको मृत्युपछि कोरोना स्वाब परीक्षणका लागि पठाइयो भने । एकजनाको मृत्युअघि नै स्वाब निकालिएको थियो । ‘गह्रुँगो मन बनाएर घर गए, स्वाबको रिपोर्ट नआएसम्म मनमा खुल्दुली भयो’ डा.अधिकारीले भने ।
बेलुका बल्ल रिपोर्ट आयो । मृतक तीनैजनाको कोरोना पोजेटिभ ! उनी छाँगाबाट खसैजस्तै भए । डा. अधिकारी सुनाउँछन् ‘सम्भवतः नेपालमा एकै ठाँउमा कोरोना संक्रमित यसरी एकैपटक र यति छिटो बितेको यो पहिलो घटना होला, मैले अन्यत्र यस्तो सुनेको छैन ।’