विनाकारण कुटिएपछि सर्जिकल व्यवसायी उत्रिए आन्दोलनमा

News

सर्जिकल व्यवसायीमाथि कुटपिट भएपछि काठमाडौँको त्रिपुरेश्वर क्षेत्रका व्यवसायी आन्दोलित भएका छन् । सोमबार दिउसो २ बजेपछि स्थानीयहरुले हिमालयन सर्जिकलका युवराज बेल्बासेलाई कुटपिट गरेको भन्दै व्यवसायीहरुले विरोध जनाएका हुन् ।

सर्जिकल व्यवसायलाई राज्यले अत्यावश्यक सेवा अन्तर्गत राखेर चौबिसै घण्टा सञ्चालन गर्न दिएको छ । तर व्यवसायीको संगठन केमिकल एण्ड सर्जिकल सप्लायर्स एसोसिएसनका अनुसार काठमाडौंको त्रिपुरेश्वरका स्थानीयले बिहान ११ देखि दिउँसो २ बजेसम्म मात्रै पसल सञ्चालन गर्न उर्दी जारी गरेका थिए । यही नियम पालना नगरेको भन्दै काठमाडौँ त्रिपुरेश्वरका स्थानीयले आफूलाई कुटपिट गरेको सर्जिकल व्यवसायी युवराज बेल्बासेको आरोप छ । दिउँसो २ बजे ग्राहकलाई सामान दिई पसल बन्द गर्नै लाग्दा केही व्यक्तिले कुटपिट गरेको उनले बताए ।

सर्जिकल सप्लायर्स एसोसिएसन अफ नेपालका केन्द्रीय प्रवक्ता आशिष प्याकुरेलले कुटपिट गर्नेलाई कारबाही गर्न माग गरे । स्थानीयले बनाएको नियम गैह्रकानूनी भएकाले राज्यले बन्द गर्न नभनेसम्म चौबिसै घण्टा पसल सञ्चालन गर्ने उनको भनाइ छ । व्यवसायीहरू पनि राज्यले अत्यावस्यक सेवा अन्तर्गत राखेको क्षेत्रलाई आफुखुसी बन्द गराउने अधिकार स्थानीयहरुसँग नभएको बताउँछन् ।

सर्जिकल व्यवसायलाई सरकारले अत्यावस्यक सेवा अन्तर्गत राखेको छ । तर पनि त्रिपुरेस्वर क्षेत्रका व्यवसायीहरुले स्थानीयहरुको आग्रहलाई स्वीकार गर्दै विहान ११ बजे देखि दिउसो २ बजेसम्म पसल सञ्चालन गर्दै आएका थिए । कोरोना संक्रमण जोखिमलाई ध्यान दिएर अहिलेसम्म केमसान र स्थानीयले बनाएको नियमलाई मान्दै आएको तर व्यवसायी माथि नै कुटपिट हुन थालेपछि त्यस्तो नियम नमान्ने उनीहरुले बताएका छन् ।