उपत्यकामा १५ दिन कर्फ्यू नै लगाउन मेयरहरुको सुझाव

News

उपत्यका नगरपालिका मेयर फोरमले कर्फ्यु आदेश जारी गरी निषेधाज्ञालाई थप कडाइ गर्नुपर्ने बताएको छ । मेयर फोरमका सचिव एवं मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई कर्फ्यु आदेश जारी गर्न सुझाब दिएको बताए ।

सञ्चारकर्मीसँगको कुराकानीमा फोरमका सचिव श्रेष्ठले केही दिन अत्यावश्यक सामग्री किनमेलका लागि सहज बनाई थप १५ दिन कर्फ्यु आदेश जारी गरे मात्रै कोभिड– १९ संक्रमणलाई नियन्त्रणमा लिन सकिने बताए ।

उनले अहिले १५ दिनसम्म भएको निषेधाज्ञाको अवस्थामा संक्रमण फैलिन नपाएको र अझै पनि मानिस बाहिर निस्कने काम भइराखेकाले यसलाई रोकेर संक्रमणलाई पूर्ण रूपमा नियन्त्रणमा लिन कर्फ्यु नै उत्तम विकल्प भएको बताए ।

कोभिड– १९ संक्रमण समुदायस्तरमा फैलिइसकेको अवस्थामा मानिसहरूको आवागमनलाई पूर्ण रूपमा निषेध जी नगरीकन नियन्त्रणमा लिन कठिन हुने पनि  उनले बताए ।

कडा खालको निषेधाज्ञाबाट विपन्न वर्गहरूमा समस्या पर्नेतर्फ उपत्यका नगरपालिका मेयर फोरम सचेत रहेको पनि उनले बताए । त्यसका लागि आफू बसेको वडा कार्यालयमा सम्पर्क गरे सहजै राहत उपलब्ध हुने पनि श्रेष्ठले बताए ।

उपत्यकामा भदौ ३ गते मध्यरातदेखि निषेधाज्ञा जारी भएको थियो । जसको समय आज (बुधबार) मध्यरातदेखि सकिँदै छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञालाई यथावत् राख्ने वा स्वरूप परिवर्तन गर्ने भन्ने सम्बन्धमा आज निर्णय गर्दै छ ।