हरेक दल, नेता र तिनका कार्यकर्ताले राजनीति पद र प्रतिष्ठामा नभई समाजसेवामा केन्द्रित हुनुपर्ने ठूला भाषण र मन्तव्य दिइरहन्छन् । तर, तिनै दलका नेता कार्यकर्ता पदको लोलुपतामा लागेर देश बिर्सिदिन्छन्, पार्टी संगठन र सिद्धान्त नै भुलिदिन्छन् । यसको पछिल्लो उदाहरण हो जनता समाजवादी पार्टीभित्र चलेको पद र प्रतिष्ठाको लडाइँ । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको एकता भएर बनेकों जनता समाजवादी पार्टीको नेतृत्वले एकताको महिनौ भइसक्दा पनि पार्टीको माथिल्लो कमिटी समेत गठन गर्न सकेको छैन । वैकल्पिक शक्ति बन्ने दावाका साथ तेस्रो दलको नेतृत्वमा उभिएका नेताहरुको उद्देश्य पदप्राप्ति बाहेक केही नदेखिएको विश्लेषक बताउँछन् ।
विशेषगरी मधेशकेन्द्रित मुद्दालाई प्राथमिकतामा राख्दै आएको जसपा जनतातर्फ भन्दा व्यक्तिकेन्द्रित प्रवृत्तितर्फ केन्द्रित देखिन्छ । सानो पार्टीभित्र पनि उनीहरू १२ जना उपाध्यक्ष र १ हजारको केन्द्रीय कमिटी बनाउन लागिपरेका छन् । पार्टी एकताको बाँकी कार्यभार पूरा गर्न नेताहरुको व्यवस्थापन आवश्यक भएको हुँदा आफूहरुले यस्तो तयारी थालेको जसपाका नेताको भनाइ छ ।
राष्ट्रिय राजनीतिमा वैकल्पिक शक्तिको दाबा गर्ने दलहरुको कार्यशैली पुरानै ढर्राको देखिएपछि उनीहरुप्रतिको विश्वास घट्न थालेको छ । तर पनि उनीहरु पद, प्रतिष्ठा, व्यक्तिगत स्वार्थ र सत्ताका लागि पार्टीभित्र लडाइँ गर्न छाड्दैनन् ।