पोखराको एकमात्र आँखा अस्पताल हिमालयन आँखा अस्पताल घारीपाटनका लेखा शाखा प्रमुख बामदेव सुवेदीलाई सोही अस्पतालमा कार्यरत महिला कर्मचारीमाथि यौन दुब्र्यवहारको आरोप लागेको छ ।

हिमालयन आँखा अस्पतालमा कार्यरत एक महिला कर्मचारीले आफुमाथि शोषण भएको भन्दै अस्पताल प्रशासनलाई सुबेदीको बिरुद्ध उजुरी दिएकी छिन । आफुमाथि यौन शोषण गरेको भन्दै सो महिलाले शुक्रबार उजुरी दिए पछि तत्काल अस्पताल प्रशासनले ती कर्मचारीलाई निलम्बन गरेर छानबिन शुरु गरेको अस्पताल श्रोतले जनाएको छ ।
करीब ३८ बर्षीया ती महिलालाई लेखा प्रमुख बामदेव सुबेदीले करीब ४ बर्ष अगाडिदेखि बिभिन्न डर ,धाक र धम्की दिएर शारिरिक शोषण गर्दै आएको महिलाको आरोप छ । श्रोतका अनुसार सुबेदीले अस्पताल प्रशासन तथा ब्यवस्थापन समितिसँग आफु नजिक रहेको र घटना बाहिर ल्याए जागिर खाइदिने धम्की दिदैँ यौन शोषण गर्ने गरेको श्रोतको दाबी रहेको छ ।
करीब ४ बर्ष अगाडिदेखि हुँदै आएको शोषण नरोकिए पछि महिला बाध्य भएर अस्पताल प्रशासनलाई उजुरी दिएको बताइएको छ । सुवेदीले डर ,धाक र धम्की दिँदै अन्य कर्मचारीहरुलाई पनि शारिरीक शोषण तथा दुराचार गर्ने गरेको अन्य कर्मचारीहरुले पनि अस्पताल प्रशासनलाई मौखिक जानकारी गराएका छन । तर उनीहरुले लिखित उजुरी भने दिएका छैनन ।
अस्पताल प्रशासनका अनुसार आफुहरुलाई सो उजुरी आएको र छानबिनको प्रकृयामा रहेको बताइएको छ । आरोपित सुबेदीलाई निलम्बन गरेर आवश्यक छानबिन गर्ने कार्य अगाडि बढाइएको अस्पताल श्रोतले जनाएको छ । पीडित महिलालाई आवश्यक परेको खण्डमा प्रहरीमा उजुरी दिन सक्ने भन्दै अस्पतालले बाटो खोलिदिएको भएता पनि हालसम्म पीडित महिलाले प्रहरीमा उजुरी दिएकी छैनन ।
यसरी पोखराको एक मात्र आँखा अस्पतालमा भएको यो यौन शोषण काण्डमा आरोपित सुवेदीलाई अनुसन्धानको दायरामा ल्याएर कारवाही गर्नुपर्ने माग पीडितको छ ।