भोलि दिउँसो ३ बजे रातो मछिन्द्रनाथको रथयात्रा

News

आइतबार दिउँसो ३ बजे रातो मछिन्द्रनाथको रथयात्रा हुने भएको छ। झडपपछि सरोकारवाला निकाय र गुठी खल: हरुको संयुक्त बैठकले रातो मछिन्द्रनाथको रथयात्रालाई औपचारिकता मात्र दिने निर्णय गरिएको थियो। कोरोना महामारीका कारण रथयात्रा सम्पन्न गर्न नसकेको भन्दै शुक्रवार रातो मछिन्द्रनाथको क्षमा पूजा गरिएको थियो। यसअघि भने पुल्चोकबाट रथ तानेर गाबाहाल सम्म रथ पुर्‍याइन्थ्यो।

‘भोलि ३ बजे रथयात्रा हुन्छ। सोह्रखुट्टेसम्म रथ पुर्‍याएर रथयात्रा टुंगिन्छ।’ ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले भने।

रथ कसरी तान्ने भन्ने विषयमा हाल छलफल भइरहेको छ। सोह्रखुट्टे पाटीसम्म रथ तान्नेर यसपटक औपचारिकतामा मात्रै रथयात्रा सकाउन लागिएको हो। भोलि रथलाई स्रोहखुट्टे पाटीसम्म तानेर छ्वयलाबु गरिन्छ। यस अवसरमा पाटनबासीहरुलाई घरमा कसैलाई पनि नख:त्या (भोज) नबोलाउन आग्रह गरिएको महर्जनले बताए।

भोलि रथलाई स्रोहखुट्टे पाटीसम्म पर्‍याएर  भाद्र २२ गते  भुज्याय् मनाउने तय भएको छ। भोलि नै रातो मछिन्द्रनाथलाई बुंगमती फर्काउन साइत हेरिनेछ। सम्भवत भाद्र २६ गते रातो मछिन्द्रनाथलाई खटमा राखेर बुंगमती फिर्ता लगिनेछ।

बिहीबारको घटनापछि हाल ललितपुर जिल्ला प्रशासनले रातो मछिन्द्रनाथ र मीननाथ रहेको क्षेत्रमा ५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। भोलि हुने रथयात्रामा समेत धेरैलाई भेला नहुन आग्रह गरिएको छ। रथयात्राको समयमा सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै प्रशासनले केही निर्णय लिन सक्ने बताइएको छ।