बझाङको मष्टा गाउँपालिका २ की १२ बर्षीया बालिका सम्झना विकको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीका अनुसार जिल्ला अस्पताल बझाङले प्रहरीलाई दिएको सम्झनाको पोस्टमार्टम अनुसार उनको बलात्कारपछि हत्या भएको प्रारम्भिक निश्कर्ष निकालिएको हो ।
अहिले घटनाबारे अनुसन्धान गर्न बझाङका प्रहरी नायब उपरीक्षक रूपक खड्का नेतृत्वमा टोली खटिएको छ। घटनाको प्रकृति र स्थिति हेर्दा बलात्कारपछि हत्या भएको उनले बताए ।
अहिले घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई पक्राउ गरि अनुसन्धान समेत गरिरहेको छ । बोहरा यसअघि पनि विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको दाबी छ ।
गत बुधबार गाईबस्तुलाई घाँस हाल्न गएकी मस्टा गाउँपालिका २ की सम्झना मृत फेला परेकी थिइन्। बुधबार साँझ घाँस हाल्न निस्केकी सम्झना शव निर्वस्त्र सिमदेवता मन्दिरमा भेटिएको थियो। सम्झना मष्टा निमाविको कक्षा ६ मा अध्ययनरत थिइन् ।उनलाई बलात्कारपछि हत्या गरिएको भन्दै हत्यारालाई कारवाही गर्न शनिबार चैनपुरमा स्थानीय बासिन्दाले प्रदर्शन गरेका थिए ।