बजारमा पाइने मास्कका ९ प्रकार

Interesting

विकशित देशमा मास्क उत्पादन गर्ने निर्देशिका जारी गरिएको हुन्छ। उत्पादकले मास्कमा प्रयोग हुने कपडाको किसिम, आकार, नाप, तानिने शक्ति, कानमा लगाउने हो कि टाउको पछाडि बाँध्ने हो, स्वास्थ्य जोखिम के–के हुन सक्छन्, तरल पदार्थ छेक्न सक्छ कि सक्दैन, धूलोकण, ब्याक्टेरिया, भाइरस आदि कति छेक्न सक्छ जस्ता धेरै तथ्य अनिवार्य रुपमा उल्लेख गरिएको हुनुपर्छ।

प्रायगरी मास्कमा २ वा २ भन्दा धेरै पत्र  हुन्छन्। विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययन अनुसार कोरोना भाइरसलाई छेक्नको लागि कम्तीमा ३ वटा पत्र भएको मास्क उचित हुन्छ।

१.    कपडाबाट तयार गरिएका साधारण मास्कमा करिब ८०–५०० माइक्रोमिटर भन्दा ठूलाठूला प्वाल हुने अनुसन्धानले देखाएको छ। कपडाको मास्कले भाइरसविरुद्ध रक्षा गर्न सक्दैन। यस्ता मास्कले ब्याक्टेरिया र धुलोबाट ५० प्रतिशतसम्म रोक्न सक्छ। तिनले धूलोकणहरू त्यति राम्रोसँग छेक्न सक्दैनन्। त्यसैले विशेषज्ञहरुले उच्च गुणस्तरको मास्कको प्रयोग गर्न सुझाएका छन्।

२.  धेरै प्रयोगमा आउने गरेको माक्स सर्जिकल मास्क हो। यो खुकुलो हुने र अनुहारमा टाइट फिटिङ नहुने भएकोले नाकको माथिपट्टि दायाँ–बायाँबाट वा कानको नजिकबाट वा मुखको दायाँ–बायाँबाट हावा सजिलै छिर्ने सम्भावना रहन्छ।

३.  सबैभन्दा राम्रो मास्क एफएफपी ३ मास्कलाई मानिएको छ। यसले भाइरसबाट ९५ प्रतिशत र ब्याक्टेरिया, धुलोबाट ८० प्रतिशतसम्म रोक्न सक्छ।

राम्रो खालको मास्कमध्ये एक एन ९५ हो। यो मास्क अनुसारमा राम्रोसँग फिट हुन्छ। यो मास्कको छान्ने वा रोक्ने क्षमता सर्जिकल मास्कको भन्दा बढी हुन्छ। एरोसोल साइन्स एन्ड टेक्नोलोजी जर्नलमा प्रकाशित आर्टिकलका अनुसार एन९५ मास्कले ३०० न्यानोमिटर तहका धेरै साना कण ९५ प्रतिशतसम्म छेक्न सक्छ। त्यसैले यसको नाम एन ९५ राखिएको हो। एन ९५ मास्क भने स्वास्थ्यकर्मीहरूले कोरोना संक्रमितको उपचारमा संलग्न हुँदा लगाउनु प्रभावकारी मानिएको छ। एन ९५ सँगै सर्जिकल माक्स एकै साथ लगाउने गरेको पनि देखिन्छ। एन ९५ मास्कले सतप्रतिशत ब्याक्टेरिया र धुलोका कण पनि रोक्न सक्छ।

४.    एन–९५ अमेरिकी स्टान्डर्डका लागि र केएन–९५ चाइनिज स्टान्डर्डका लागि प्रयोग हुने कोड शब्द हो। नाम फरक भए पनि यी दुवैको काम एउटै किसिमको मानिएको छ। एन भनेको ‘नन आयल बेस्ड’ पार्टिकल अर्थात् चिल्लोपना नभएका लगभग ९५ प्रतिशत हावाबाट प्रसार हुने किटाणु रोक्ने भएकाले पनि यो मास्कलाई एन–९५ भनिएको हो।

विभिन्न प्रकारका मास्कमध्ये एन–९५ मास्कले ०.३ न्यानोमिटरसम्मका मसिना कण र भाइरसलाई पनि रोक्ने वुहान सेन्टर फर डिजिज प्रिभेन्सनले निकालेको निर्देशिकामा उल्लेख गरिएको छ। हावाबाट सर्ने रोगको जीवाणुबाट जोगिन यस्तो किसिमको मास्क प्रभावकारी मानिन्छ। एन–९५ मास्कमा पनि भित्रपट्टि श्वास फेर्ने भल्भ अर्थात् छिद्र भएको वा नभएको दुई किसिमको पाइन्छ।

५.    भल्भ भएको एन–९५ मास्कले मास्क लगाउने व्यक्ति आफू सुरक्षित रहने तर अरूलाई सुरक्षा नगर्ने कुरा अनुसन्धानमा उल्लेख भएपछि यो भल्भवाला मास्कलाई नलगाउन अनुरोध गरिएको छ। यो मास्कले बाहिरबाट भित्र जाने हावा त रोक्छ, तर भित्रबाट बाहिर आउने हावा रोक्दैन। संक्रमित व्यक्तिले फेरेको श्वास भल्भबाट बाहिर निस्कान्छ र वरपर रहेका व्यक्तिलाई भाइरस सार्ने सम्भावना रहन्छ।
६.     भल्भ नभएका एन–९५ मास्क श्वासप्रश्वासजन्य कारणबाट हुन सक्ने संक्रमणबाट बचाउन सक्ने हुन्छ। तर यस प्रकारको मास्क लामो समयदेखि श्वासप्रश्वासजन्य समस्या भएका बिरामी, मुटुसम्बन्धी समस्या भएकालाई उपयोगी भने हुँदैन।

७.     एक्टिभेट कार्बन मास्क सामान्यतया गन्ध रोक्न प्रयोग गरिन्छ। यो भाइरसविरुद्ध संरक्षण गर्न अपर्याप्त छ। किनकी यसले केवल भाइरसबाट १० प्रतिशत मात्र सुरक्षा प्रदान गर्छ भने ५० प्रतिशतले ब्याक्टेरिया र धुलोबाट जोगाउँछ।

८.     स्पन्ज मास्कले भाइरसविरुद्ध जोगाउन सक्दैन। यसले केवल ५ प्रतिशत ब्याक्टेरिया र धूलोबाट बचाउन मद्दत गर्छ। विज्ञहरुले यस मास्क लगाउन कहिल्यै सुझाव दिंदैनन्।

९.    अहिले नयाँ माक्स बजारमा आउँदैछ, जसमा माक्ससँगै चस्मा पनि जोडिएको हुनेछ। दैनिक धेरै जनासँग सम्पर्क गर्नुपर्ने व्यक्तिको लागि यो मास्क निकै उपयोगीसिद्ध हुने आशा गरिएको छ। मास्क लगाए पनि आँखाको माध्यमबाट भाइरस संक्रमण हुनसक्छ। यो मास्क लगाएपछि संक्रमणबाट धेरै हदसम्म सुरक्षित हुन सकिने चिकित्सकहरुको भनाइ छ।

युनिभर्सिटी अफ लण्डनका प्राध्यापक डा डेभिड क्यारिङ्टनले पनि सामान्य प्रकारका सर्जिकल मास्कले हावामा हुने भाइरस र ब्याक्टेरियाबाट सर्वसाधारणलाई प्रभावकारी सुरक्षा नदिने बताएका छन्। उनका अनुसार धेरैजसो भाइरस हावाबाट नै मानिसमा सर्ने गर्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार, सर्जिकल मास्क लगाउँदा कोरोना लगायत केही श्वास–प्रश्वास सम्बन्धी रोगहरू फैलिनबाट रोकथाम गर्न सकिन्छ। तैपनि बुझ्नुपर्ने कुरा के छ भने, मास्क मात्रैले सुरक्षा गर्न सक्दैन। कोरोना भाइरस कि त श्वास–प्रश्वास ड्रप्लेट कि त संक्रमित मान्छेलाई छुँदा स्वस्थ मान्छेमा सर्छ। त्यस कारण रोगी मान्छेले खोक्दा वा हाच्छिउँ गर्दा एक मिटरको दूरीसम्म कोरोना भाइरस अर्को मान्छेलाई सर्ने जोखिम हुन्छ। त्यसैले मास्कको प्रयोग गर्नुको साथसाथै कम्तीमा २ मिटरको दूरी कायम गर्नु जरुरी हुन्छ।

पब्लिक हेल्थ कमिटी फर द इन्फेक्सस डिजिज सोसाइटी अफ अमेरिकाका अध्यक्ष डा जुली भ्यासम्पायनले भनेका छन्, ‘मास्कको प्रयोग गरेका कारणले मात्र संक्रमणबाट सुरक्षित छौं भन्ने महसुस गरेका मानिसहरुप्रति हामी चिन्तित छौं। मास्क प्रयोग गर्नुभन्दा राम्रोसँग हात धुनु र संक्रमित व्यक्तिबाट टाढा रहनु महत्वपूर्ण तरिका हो। किनभने सर्जिकल मास्क नाक र मुखमा फिट गर्न सकिँदैन। मुखमा केही ग्याप हुने गर्छ। त्यसैले तपाईंले हावाबाट आएका विभिन्न कणलाई फिल्टर गर्न सक्नु हुन्न।’

भीड छिचोलेर जाँदा वा सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कले सही तरिकाले नाक–मुख छोप्न सकेमा तुलनात्मक रूपमा संक्रमणको जोखिमबाट आफूलाई बचाउन सकिन्छ। सही साधनको सही उपयोगले मात्र आफ्नो र समुदायको स्वास्थ्यमा सकारात्मक भूमिका खेल्छ।