बाँकेमा कोरोनाबाट सङ्क्रमित भएकाहरू दिनानुदिन ठुलो सङ्ख्यामा निको हुने क्रम निरन्तर जारी छ । हालसम्म जिल्लामा कोरोना सङ्क्रमणबाट मुक्त हुनेहरूको सङ्ख्या एक हजार ४३४ पुगेको छ । स्वास्थ्य कार्यालय बाँकेले निको हुने दर जिल्लामा निरन्तर बढ्दै गएको जनाउँदै हाल आएर निको हुने दर ८१ प्रतिशत पुगेको जनाएको छ । करिब एक साताअघि ७२ प्रतिशत निको हुने दर रहेकोमा चार दिनअघि सो दर बढेर ८० प्रतिशत पुगेको थियो ।
स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठका अनुसार अहिले आएर सो दर ८१ प्रतिशत पुगेको छ । उहाँले कोरोना जितेर घर फर्किने क्रममा शनिबार ५० जना सङ्क्रमणमुक्त भएर घर फर्किएको जनाउँदै आइतबार पनि गाउँपालिकाका एकजना अध्यक्षसहित २३ जना सङ्क्रमणमुक्त भएर घर फर्किएको बताउनुभयो । दुई दिनमा मात्रै बाँकेमा ७३ जना निको भएर घर फर्किएका छन् ।
सम्पर्क व्यक्ति श्रेष्ठका अनुसार आइतबार बाँकेबाट खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपति, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका एक डाक्टरसहित ११ महिला र १२ पुरुष गरी २३ जना सङ्क्रमित कोरोना सङ्क्रमणमुक्त भई घर फर्किनुभएको हो । सम्पर्क व्यक्ति श्रेष्ठले उनीहरूलाई भदौ २८ गते कोरोना सङ्क्रमण देखिएपछि जिल्लाका विभिन्न आइसोलेसनमा राखिएको थियो । चाैध दिनसम्म आइसोलेसनमा रहँदा उनीहरूलाई कुनै पनि प्रकारको स्वास्थ्य समस्या नभएपछि घर पठाइएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार आइतबार डिस्चार्ज भएका २३ जनासँगै बाँकेमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या एक हजार ४३४ पुगेको छ भने अझै जिल्लाका विभिन्न आइसोलेसन केन्द्रमा ३५९ जना सक्रिय सङ्क्रमित भर्ना रहेका छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट सङ्क्रमितको सङ्ख्या एक हजार ८०५ पुगेको र तीमध्ये उपचारका क्रममा १३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।