मन्त्रीमण्डल पुनर्गठन सहितका विभिन्न बुँदामा सहमतिपछि नेकपा विवाद टुगिंए पनि मन्त्रीमण्डल हेरफेर भने हुनसकेको छैन । अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले दिनहु छलफल गर्दा पनि भागबण्डामा सहमति नजुटेपछि पुर्नगठनमा ढिलाइ भएको कतिपयको बुझाइ छ ।
प्रधानमन्त्री केपी ओलीको कार्यशैली र एकलौटी नियुक्तिलाई लिएर चुलिएको नेकपा विवाद मन्त्रिमण्डल पुनर्गठन गर्ने लगायत विषयमा सहमतिपछि टुंगोमा पुगेको थियो । तर, सहमतिको हप्ताँै बितिसक्दा पनि मन्त्री हेरफेर त परकै कुरा खाली मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने तय हुन सकेको छैन । बहालवाला केही मन्त्रीको कार्यशैली सन्तोषजनक नभएकाले हुँदा तत्काल योग्य र सक्षमलाई नेतृत्व दिन आवश्यक भएको विज्ञको बुझाइ छ।
मन्त्रिमण्डल पुनर्गठन र नियुक्तिको विषयबारे स्थायी कमिटीमा सहमति जुटेको बताइए पनि अध्यक्षद्वय दिनहुँ यही विषयका छलफलमा बस्न भने छाडेका छैनन् । दिनमै पटकपटक भेट गरेर पनि उनीहरू क–कसलाई नियुक्ति गर्ने, कुन–कुन मन्त्रालयमा जिम्मेवारी हेरफेर गर्ने विषय ठोस निर्णयमा पुग्न सकेका छैनन् । छलफलको निष्कर्ष नआएका कारण पार्टीमा आकांक्षीको संख्या पनि बढिरहेको छ । तर नेकपाका नेता मन्त्रिमण्डल पुनर्गठनको काममा कुनै विवाद नरहेको दाबी गर्न छाड्दैनन् ।
भागबण्डाका आधारमा केही मन्त्री र मुख्यमन्त्री समेत हेरफेर गर्ने तयारी गरिरहेको नेकपाभित्र पात्रहरूमा सहमति नजुट्दा अन्योल बढेको छ । यसले गर्दा नेताहरुको असन्तुष्टि मात्रै होइन, सरकारको दैनिक कामकारवाहीमा समेत असर पुगेको देखिन्छ ।