बाबरी मस्जिद घटनासम्बन्धी मुद्दाका सबै ३२ अभियुक्तलाई २८ वर्षपछि सफाइ

International

भारतको उत्तर प्रदेश स्थित अयोध्यामा रहेको बाबरी मस्जिद तोडफोड भएको २८ वर्षपछि लखनऊको विशेष अदालतले घटना सम्बन्धि मुद्धाका सबै ३२ जनालाई सफाइ दिएको छ ।

भारतको केन्द्रीय अनुसन्धान ब्युरो सीबीआई अन्तर्गत गठित विशेष अदालतले बुधबार बाबरी मस्जिद भत्काइएको घटनासम्बन्धी मुद्दाका सबै ३२ अभियुक्तलाई सफाइ दिएको हो ।

अदालतले बुधबार आफ्नो अन्तिम फैसला सुनाउँदै सत्तारूढ दल भारतीय जनता पार्टी भाजपाका वरिष्ठ नेताहरू लालकृष्ण आडवाणी, मुरलीमनोहर जोशीलगायतलाई ठोस प्रमाण नभएको भन्दै सफाइ दिएको हो ।

न्यायाधीश एसके यादवले फैसलामा अभियुक्तहरूले घटनाका लागि पूर्वषड्यन्त्र रचेको भन्ने आरोप पुष्टि नहुने र प्रमाणका रूपमा पेस गरिएका अडियो एवं भिडियो प्रस्ट नभएको उल्लेख गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् १९९२ डिसेम्बर ६ मा भाजपानिकट हिन्दू कट्टरवादीले राम जन्मभूमि भएको दाबी गर्दै अयोध्यामा १६औं शताब्दीमा निर्मित बाबरी मस्जिदको बाहिरी संरचना भत्काइदिएका थिए ।

त्यसपछि भड्किएको साम्प्रदायिक हिंसामा २ हजारभन्दा बढीको ज्यान गएको थियो ।उक्त घटनामा संलग्न भएको आरोपमा सीबीआईले सुरुमा आडवाणी, जोशीलगायत ४९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

मुद्दा किनारा नलाग्दै १७ जनाको मृत्यु भइसकेको बताइएको छ । बाँकी ३२ अभियुक्तमध्ये गत महिना अयोध्यामा शिलान्यास गरिएको राम मन्दिर निर्माणका लागि गठित श्री जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका प्रमुख नृत्यगोपाल दास,उत्तरप्रदेशका पूर्व मुख्यमन्त्री कल्याण सिंह,भाजपा नेत्री उमा भारती पनि छन ।

अदालतले फैसलाका दिन सबै अभियुक्तलाई उपस्थित हुन आदेश दिएको थियो । तर, आडवाणी, जोशी र भारतीलगायत उपस्थित नभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अदालतमा २६ जना आरोपित मात्र उपस्थित रहेका थिए ।