जुम्ला सदरमुकाममा पुनः निषेधाज्ञा

News

कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि जुम्ला सदरमुकाम पुन निषेधाज्ञा गरिएको छ ।
स्थानीय प्रशासनले एकै पटक ३० जनाभन्दा बढी व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि थप फैलिन नदिन असोज १५ गते दिउसो ३ बजेबाट अर्को आदेश नभएसम्म निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभयो ।

प्रजिअ थापाबाट जारी आदेशमा सङ्क्रमित व्यक्तिको खोजी र परीक्षणका लागि चन्दननाथ नगरपालिकाको पूर्वमा दानसाँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा छिना लाग्नासम्मको चार किल्ला निषेधाज्ञा गरिएको छ । निषेधाज्ञाको निर्णय जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रको सिफारिस अनुसार जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरेको हो ।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत स्वास्थ्यकर्मीहरूमा कोरोना सङ्क्रमित देखिएपछि अस्पतालको आकस्मिक कक्षबाहेक अन्य सेवा बन्द गरिएको छ ।

सङ्क्रमित २४ बाट बढेर ४७ पुगे 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत २७ जना जना स्वास्थ्यकर्मीसहित ४७ जना कोरोना पोजिटिभ भएका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डाक्टर अनुपमङ्गल समालले जानकारी दिनुभयो । उहाँका अनुसार २७ जना प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मी अन्य बिरामी, बिरामीका आफन्तसमेत रहेका छन् । उनीहरूलाई अस्पतालको आईसोलेसनमा राखिएको डाक्टर समालले जानकारी दिनुभयो । यसैगरी अन्य कर्मचारीहरूको पनि स्वाब परीक्षण गर्ने तयारी भइरहेको छ । हिजो बेलुकी २४ जना थिए । आज २३ बढेर ४७ सङ्क्रमित भएका उहाँले जानकारी दिनुभयो ।
केही दिनअघि शून्य भएको जुम्लामा फेरी कोरोना पोजिटिभ देखिएपछि त्रास बढेको छ । अब अस्पतालका अन्य कर्मचारीलाई समेत परीक्षण गरिएका बताइएको छ ।