स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका निर्णय संविधान र अदालतको फैसला विपरीत नभएको स्पष्ट पारेका छन् । मंगलबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्री ढकालले संविधान र कानुन अनुसार नै कोरोना संक्रमतिको उपचार तथा कोरोना नियन्त्रणका लागि कार्यविधिहरु बनाइएको उल्लेख गरे । गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँच सहज बनाउन जनताको चाहना र माग अनुसार नै निजी क्षेत्रसँगको साझेदारीमा शुल्क तिर्न सक्नेहरुका लागि सशुल्क सेवा उपलब्ध गराउन आवश्यक भएको उनले बताए । मन्त्री ढकालले कोरोनाबाट मृत्यु हुने व्यक्तिको शव स्थानीय प्रशासनसँगको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गर्ने नीतिमा कुनै परिवर्तन नभएको पनि जानकारी दिए ।
मन्त्री ढकालले कोरोना संक्रमणको महामारीको विषम परिस्थितिबाट गुज्रिरहेको अवस्थामा दशैं तिहार लगायतका चाडपर्वहरु मनाउदा विशेष सावधानी अपनाएर मनाउनुपर्ने पनि बताए ।।