साझा पार्टीद्वारा प्रधानमन्त्री ओली र भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखबीचको भेट प्रति आपत्ति प्रकट

Politics

साझा पार्टीले प्रधानमन्त्री केपी ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलबीचको भेट प्रति आपत्ति प्रकट गरेको छ । आज एक विज्ञप्ती प्रकाशित गर्दै साझाले प्रधानमन्त्रीले विदेशी गुप्तचर संस्थाका प्रमुखलाई भेट्नुले प्रधानमन्त्रीकै तहबाट नेपालको कूटनीतिक सम्मान र राष्ट्रिय स्वाभिमानमाथि भएको ठाडो आक्रमण भएको जनाएको हो । रअ प्रमुख गोयललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ‘विशेष दूत’का रूपमा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाएका हुन भने त्यसवारे प्रस्ष्ट पार्न साझाले सरकारसँग माग गरेको छ । आफ्ना खुफिया एजेन्सी प्रमुखलाई विशेष विमानबाट नेपाल पठाएर प्रधानमन्त्रीसँग भेटाउनुबाट भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको संकेत भएको साझाको आरोप छ । परराष्ट्र मन्त्रालयले औपचारिक वार्ताका लागि गरेको पत्राचारको जवाफ नदिने भारतले खुफिया एजेन्सीका प्रमुखलाई प्रधानमन्त्रीसँग भेटन पठाएर कूटनीतिक सम्बन्धलाई पनि अत्यन्तै हलुका र सस्तो बनाएको साझाको विज्ञप्तीमा उल्लेख छ । कूटनीतिक मर्यादा विपरीत भेट गर्ने यस्तो आचरण रोक्न र परराष्ट्र मन्त्रालयको कूटनीतिक आचारसंहिता पालना गर्न साझा पार्टीले आग्रह समेत गरेको छ ।