नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नौ दिनदेखि बोलचाल बन्द छ । उनीहरूबीच कात्तिक ४ गतेदेखि छलफल हुन सकेको छैन ।
यसबीचमा दशैं परे पनि नियमितजसो बालुवाटार धाइरहने प्रचण्डले ओलीसँग छलफल गर्न कुनै चासो नदेखाएको बुझिएको छ । ओली र प्रचण्डबीच संवाद ठप्प भएपछि महासचिव विष्णु पौडेलले नै अग्रसरता लिएर कात्तिक १५ देखि बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित गराएका छन् ।
कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावबाट पार्टी र सरकारमा उत्पन्न समस्या समाधानमा मत बाझिएपछि ओली–प्रचण्डबीच संवाद ठप्प भएको हो ।
भारतका गुप्तचर प्रमुख सामन्तकुमार गोयलको नेपाल आगमन र प्रधानमन्त्री ओलीसँग एक्लाएक्लैको भेटघाटपछि प्रचण्ड सतर्क भएका छन् । कात्तिक ५ गते राति ९ः१५ मा प्रधानमन्त्रीनिवास बालुवाटार छिरेका ‘रअ’ प्रमुख गोयल मध्यराति १२ः१० मा बाहिरिएका थिए ।
भारतका गुप्तचर प्रमुखले नेपालका जननिर्वाचित प्रधानमन्त्रीसँग बिताएका दुई घन्टा ५५ मिनेट सार्वभौम, स्वाभिमानी देशका लागि अँध्यारो पलका रूपमा दर्ज भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
ओलीले गोयलसँग गरेको भेटवार्ताका विषयमा पार्टी पंक्ति जानकार नरहेको बताउँदै उक्त विषय पार्टीमा छलफल हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका थिए । राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै भारतबाट नेपालमा भएको गोयलको पहिलो उच्चस्तरीय भ्रमण रहेको जानकारहरू बताउँछन् भने दोस्रो भ्रमण भारतीय सेनाध्यक्ष मुकुन्द नरभाणेको हुने छ । नरभाणेको नेपाल भ्रमणले नेकपामा अर्को भुइँचालो जाने बताइन्छ ।
भारतसँगको सीमा विवाद चर्को रुपमा उठाएका प्रधानमन्त्री ओलीले नै अहिले संसद्बाट एक मतले पास भएको नक्सा र पाठ्यपुस्तक वितरणमा रोक लगाएका छन् । नेपाल–भारत सम्बन्धमा विवादको प्रारम्भ पनि यहीँबाट भएको हो ।