नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि सुरु हुँदैछ । नेपालले आजदेखि बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि प्रशिक्षण सुरु गर्न लागेको हो । पहिलो दिनको प्रशिक्षण त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा दिउँसो २ बजे सुरु हुनेछ । प्रशिक्षणका लागि खेलाडी काठमाडौँ आइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । खेलाडीलाई त्रिपुरेश्वरस्थित वर्ल्ड ट्रेड सेन्टरमा राखिएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले एन्फालाई प्रशिक्षणका लागि अनुमति दिइसकेको छ । नेपालले बालगोपाल महर्जनको प्रशिक्षणमा तयारी सुरु गर्नेछ । मुख्य प्रशिक्षक योहान कालिन स्विडेनमा रहेका कारण एन्फाले महर्जनलाई टिम हेर्ने जिम्मेवारी दिएको हो । त्यस्तै टोलीको सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र गोलकिपर प्रशिक्षकमा विकास मल्ल रहेका छन् ।
नेपालले बंगलादेशसँग ढाकामा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । पहिलो मैत्रीपूर्ण खेल कात्तिक २८ गते हुनेछ । दोस्रो मैत्रीपूर्ण खेल आगामी मंसिर २ गते हुने एन्फाले जानकारी दिएको छ ।