फिलिपिन्समा शक्तिशाली सामुन्द्रीक आँधीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको छ। आँधीका कारण तीन करोडभन्दा धेरै मानिस प्रभावित भएका छन्।
प्रतिघण्टा २२५ किलोमिटर वेगसहित आएको आँधी क्याटानडुएस टापुमा ठोक्किएको थियो। फिलिपिन्सको राष्ट्रिय विपद् व्यवस्थापनले आँधीका कारण तीन करोड दश लाख भन्दा बढी मानिस प्रभावित भएको जनाएको छ। विपद व्यवस्थापन अधिकारी मार्क टिम्बलले भने, ‘आँधीका कारण तीन करोड १० लाखभन्दा बढी मानिस बाढी, हावाहुरी, पहिरो लगायतको जोखिममा परेका छन्।’
सन् २०१३ मा छ हजार व्यक्तिको ज्यान लिएको हैयानपछिको यो नराम्रो समुद्री आँधी भएको अधिकारीहरूले जनाएका छन्। आँधीका कारण सम्पर्क विच्छेद भएको क्याटानडुएस टापुमा पर्ने भिराक नगरका करिब ७० हजार नागरिकको अवस्था नाजुक रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। आँधीका कारण क्वेजोन प्रान्तका १० वटा शहरमा विद्युत आपूर्ति अवरुद्ध भएको छ।
फिलिपिन्समा हरेक वर्ष औसतमा २० वटा जति आँधी आउने गरेको छ। तर यो वर्ष कोरोनाभाइरस महामारीका कारण पूर्वतयारी पनि प्रभावित भएको अधिकारीहरू बताउँछन्।
आँधीले पुर्याउनसक्ने मानवीय क्षतिलाई ध्यानमा राख्दै तीन लाख ४७ हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।