नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई विभाजनमा जान नदिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक अर्का अध्यक्ष केपी ओलीसँग संवाद गर्नुपर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।
सोमबार बिहान आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टी भित्र देखिएको मतभिन्नतालाई अन्त्य गरी एकतालाई कायम राख्न पनि अध्यक्ष प्रचण्डले नै संवादका लागि पहल गर्नुपर्ने बताएका हुन्।
आइतबार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष ओलीसँगको भेटवार्तामा भएको कुराकानीको ब्रिफिङ गरेपछि आफूहरुले पार्टी एकतालाई कुनैपनि अवस्थामा बचाउन फेरि एकपटक संवाद गर्नुपर्ने सुझाव दिएको उनले बताए।
नेपालको राजनीतिक परिवर्तनलाई सामाजिक आर्थिक क्षेत्रमा विस्तारित गर्दै समाजिक न्यायसहितको समृद्ध नेपाल बनाउने आधार तयार पार्न र समाजवादसम्म पुग्नका लागि पनि एकता कायम हुनुपर्ने प्रवक्ता श्रेष्ठको भनाइ छ।