पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेलाई जापान सरकारले विभूषित गर्ने भएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध मजबुद बनाउन महत्पूर्ण योगदान पुर्याएको ठहर गर्दै पाण्डेलाई जापान सरकारले अटम इम्पेरियल डेकोरेसन’अन्तर्गत ‘अर्डर अफ दी राइजिङ सन’ बाट विभूषित गर्न लागेको हो ।
पाण्डे पर्यटन मन्त्री हुँदा सन् १९८६ मा सगरमाथा आरोहण गरेका जापान, नेपाल र चीनसहितको त्रिदेशीय टोलीलाई सहयोग गरेको दुतावासको भनाइ छ।
यस्तै सन् २००२ मा सूचना तथा सञ्चारमन्त्री रहँदा नेपाल भ्रमण गर्ने पहिलो जापानी नागरिक इकाई कावागुचीको तस्बिरअंकित हुलाक टिकट प्रकाशन गर्न पनि नेतृत्वदायी भूमिका खेलेको दूतावासले जनाएको छ ।
‘अर्डर अफ दी राइजिङ सन’ विभूषण जापान सरकारले दिन थालेको पहिलो विभूषण हो। जापान सरकारले वर्षको दुईपटक विदेशी नागरिकलाई योगदानका आधारमा यो अवार्ड प्रदान गर्ने गरेको छ ।
सन् २०२० का लागि यो विभूषण पाउने विदेशी नागरिकको सूचीमा पाण्डे पनि समावेश रहेको दूतावासले जनाएको छ।