असहायलाई खाना ख्वाउने कार्यक्रम रोक्न काठमाडौं महानगरपालिकाले निर्देशन दिएको भन्दै साझा पार्टीले आपत्ति जनाएको छ । साझा पार्टीले आज एक विज्ञप्ती प्रकाशित गर्दै केही परोपकारी समूहहरूले महिनौँदेखि काठमाडौँ खुलामञ्चमा संकटको समयमा रोजगारविहीन असहायहरूलाई खाना खुवाउँदै आएकोमा त्यसलाई रोक्न महानगरपालिकाले दिएको निर्देशनको विरोध गरेको हो । श्रमिक तथा असहायहरू भोकभोकै मर्नु पर्ने अवस्थामा सरकार स्वयंले गर्नुपर्ने काम परोपकारीले गरेकोमा अवरोध गर्ने कार्य अमानवीयताको पराकाष्ठा भएको साझाको भनाइ छ । महानगरपालिकाको कदमको विरोध जनाउन बुधबार बिहान र बेलुका खुलामञ्चमा खुवाइने खानाको खर्च बेहोर्ने निर्णय पनि साझा पार्टीले गरेको छ । सरकारलाई निर्णय फिर्ता लिएर कोरोना कहर कायम रहुन्जेल श्रमिक तथा असहायलाई काम र मामको व्यवस्था गर्न पनि साझाले माग गरेको छ ।