नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले खेलाडी बर्गिकरणको निर्णयलाई सच्चाएको छ । तर एक वर्षको सम्झौतालाई छ महिनामा घटाएको छ । चर्को विवादपछि सच्चाइएको वर्गीकरणमा फास्ट बलर सोमपाल कामीलाई ए ग्रेडमा राखिएको छ । अर्का फास्ट बलर अविनाश बोहरालाई सी बाट बी मा ल्याइएको छ । राष्ट्रिय टिममा रहे पनि सेन्ट्रल कन्ट्रयाक्टमा नपरेका ललित राजबंशीलाई बी तथा सन्दीप जोरालाई सी ग्रेडमा बर्गिकरण गरिएको छ । यसअघिको निर्णय अनुसार राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व कप्तान पारस खड्का, शरद भेषवाकर, सन्दीप लामिछाने, करण केसी, दीपेन्द्रसिंह ऐरी, वसन्त रेग्मी र विनोद भण्डारी गरी ८ खेलाडी ग्रेड ‘ए’ मा थिए भने सोमपाल थपिएका छन । ग्रेड ‘बी’ मा थपिएका ललित राजवंशी र अविनाश बोहरा सहित सुसन भारी, आरिफ शेख र पवन सर्राफ तथा ग्रेड ‘सी’ मा सुवास खकुरेल, रोहित पौडेल, कुशल मल्ल, रसिद खान,सन्दीप जोरा र कमलसिंह ऐरी छन् । ग्रेड ए, बी र सीका खेलाडीहरूले क्रमश मासिक ५० हजार, ४० हजार र ३० हजार प्राप्त गर्नेछन । महिलातर्फ राष्ट्रिय टिमकी सदस्य सरस्वती चौधरी कन्ट्रयाक्टमा थिइनन । उनलाई बी मा तथा ममता चौधरी र युवा प्रतिभाशाली खेलाडी सुमन खतिवडालाई सी मा राख्ने निर्णय गरिएको छ । क्यानको बर्गिकरण अनुसार अब राष्ट्रिय टिमकी कप्तान रूबिना क्षेत्री, नेरी थापा, इन्दु बर्मा, सीता रानामगर र करूणा भण्डारी ए ग्रेडमा परेका छन । ज्योती पाण्डे, अप्सरी बेगम, रोमा थापा, विन्दु रावल, कविता जोशी, रितु कनोजिया, काजल श्रेष्ठ, सरीता मगर र थपिएकी सरस्वती चौधरी ग्रेड बीमा तथा कविता कुवर, डोली भट्ट, अनुराधा चौधरी, सोनु खड्का, अञ्जली चन्द, सुमन खतिवडा, ममता चौधरी र शोभा आले ग्रेड सी मा रहेका छन् । ए ग्रेडले १५ हजार, बी ग्रेडले १२ र सी ग्रेडले १० हजार मासिक पारिश्रमिक पाउने छन । यसअघि २०२० को जनवरी देखि एक वर्षको सम्झौताको निर्णय भएको थियो । तर कोरोनो कारण भन्दै यो सम्झौतालाई छ महिनामा घटाएको छ । बैठकले मङ्सिर १० गतेबाट राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरू गर्ने निर्णय पनि गरेको छ । यसैगरी क्यानको साधारण सभा मङ्सिर ३ गते गर्ने निर्णय पनि गरेको छ । साधारण सभा क्यानका बोर्ड सदस्यहरू कोरोना संक्रमित भएको कारण स्थगित भएको थियो ।