प्रेस सल्लाहकार थापा ट्वीट गर्दा चिप्लिए, प्रधानमन्त्रीको ट्‍वीटर ह्याण्डलबाट व्यतिगत ट्वीट

Interesting

प्रधानमन्त्री केपी शर्मा ओलीको ट्‍वीटर ह्यान्डलबाट  प्रेस सल्लाहकार सूर्य थापाको व्यक्तिगत ट्वीट भएको छ । सल्लाहकार थापाले आफ्नो व्यक्तिगत ह्यान्डलबाट लेख्‍नु पर्ने ट्‍वीट प्रधानमन्त्रीको ह्यान्डलबाट लेखेका हुन् ।

प्रधानमन्त्री ओलीको ट्‍वीटर ह्यान्डल @kpsharmaoli बाट ‘नयाँ व्यावसायिक यात्रामा अघि बढ्न मात्रिका पौडेलजीलाई सफलताको अग्रिम शुभकामना । हामी दुबैले कोरोना संक्रमण जितेपछिको पहिलो भेटमा उहाँले खुशी हुने योजना सुनाउनु हुँदा दुबै जना द‌ग… ।’ भन्‍ने पोस्ट भयो । त्यसको एकछिनमा हटाइएको थियो ।

यसअघि @PM_Nepal भन्‍ने प्रधानमन्त्री ओलीको ट्‍वीटर ह्यान्डल पनि सचिवालयबाट दुरुपयोग भएको थियो । भारतीय कांग्रेस आइकी नेतृ सोनिया गान्धीले भारतीय नागरिकता विधेयकको विरोध गरेको ट्‍वीट @PM_Nepal ह्यान्डलबाट रिट्‍वीट भएको थियो ।

त्यसबेला प्रेस सल्लाहकार थापाले  ‘पासवर्ड दुरुपयोग भएको आशंका गरिएको’ बताउँदै छानबिन गरिने बताएका थिए । अहिलेसम्म त्यो छानबिन भइ कसले गरेको भन्‍ने तथ्य बाहिर ल्याइएको छैन ।