भक्तजनहरुलाई नआउन आग्रह गरेपनि बिहानै देखि देवघाटमा भक्तजनहरुको घुँइचो

News
समितिले विज्ञप्ती नै जारी गरेर हरिबोधिनी एकादशी, बालाचतुर्दशीलगायतका मेला पर्वमा नआउन आग्रह गरेको थियो । तर स्थानीय भक्तजनहरु हरिबोधिनी एकादशी मनाउन देवघाट नै पुगेका थिए । बिहानदेखि देवघाटधाममा स्नान गर्न आउने भक्तजनको भीड लागेको थियो ।

बाँसको लिङ्गो गाडेर तोरन टाँगेपछि देवघाटमा मेला शुरु हुने गर्दछ । हरिबोधिनी एकादशी, भगवान विष्णुको पूजा, आराधना, भजनकीर्तन र व्रत बसी मनाइने पर्व हो । व्रतालुले आज पिँडालु, सक्खरखण्ड, बदामलगायत जमीनमुनि फलेका खाने कुरा खाने गर्दछन् । हरिबोधिनी एकादशीका दिन तुलसीको विवाह गर्ने चलन पनि छ ।

असार शुक्ल एकादशीमा रोपेको तुलसी रुपी लक्ष्मीको विवाह नारायणसँग भएकाले यस दिनलाई तुलसी विवाहका रुपमा पनि लिने गरिएको छ । देवघाटधाममा औँसी, पूर्णिमा, एकादशी, माघे सङ्क्रान्ति, बालाचर्तुदशी, शिवरात्रि, साउने सङ्क्रान्तिलगायतका पवित्र दिनमा स्नान गर्न ठूलो संख्यामा भक्तजन आउने गर्दछन् ।