सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको शक्तिसंघर्ष र त्यसले निम्त्याएको विवादबारे सचिवालय बैठकमा छलफल शुरु भएको छ । अध्यक्षद्वयले एकअर्कालाई लगाएका आरोपसहितको प्रस्ताव सचिवालयमा दर्ता भएपछि छलफल थालिएको हो । तर आजको सचिवालय बैठकमा पनि अध्यक्षद्धयबीच प्रस्ताबलाई लिएर चर्काचर्की भएपछि नेकपा थप संकट परेको छ ।
अध्यक्षद्वयले एकअर्कामाथि आरोप–प्रत्यारोप गरी तयार पारेको प्रतिवेदनले नेकपाको भविष्यमाथि नै प्रश्न उठेपछि सचिवालय बैठकमार्फत नै विवाद सुल्झाउने प्रयास गरिएको थियो । तर मंगलबारको सचिवालय बैठकमा समेत अध्यक्षद्वयबीच एकअर्काको प्रस्तावलाई लिएर चर्काचर्की भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई राजनीतिक प्रतिवेदन नभई आरोप मात्र भएकाले छलफल हुन नसक्ने बताएपछि दुईबीच भनाभन भएको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।
ओलीले प्रस्ताव फिर्ता हुनै पर्ने अडान लिएपछि दाहालले त्यसको प्रतिवाद गरेका थिए । ओलीले सीमा र मर्यादामा रहन भन्दै रुलिङ गर्ने प्रयास गरेपछि दाहाल झनै खरो रुपमा प्रस्तुत भएका थिए । तर बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने दुई अध्यक्षको प्रस्तावमाथि छलफल शुरु भएको प्रतिक्रिया दिए ।
बैठकमा रस्साकस्सी चलिरहँदा बाहिर भने नेताहरु पार्टी फुट्न नदिने प्रतिबद्धता जनाउँदै आएका छन् । अध्यक्षद्वय आरोप–प्रत्यारोपमा लागिरहँदा विश्लेषक भने मिल्नुबाहेक अन्य विकल्प नरहेको बताउँछन् ।
बढ्दो विवादबीच नेकपाका नेताहरुले औपचारिकसँगै अनौपचारिक छलफल पनि जारी राख्ने भन्दै बुधबारका लागि पुनः बैठक तय गरेका छन् । तर सहमतीय तरिकाले अघि बढ्नुपर्ने अध्यक्षद्वयबीच आरोप–प्रत्यारोप चलिरहँदा नेकपाको विवाद सहजै मत्थर हुने अवस्था देखिँदैन ।