कोरोना संक्रमित मृतकको अनुहार आफन्तले कहिलेसम्म हेर्न नपाउने?

News

अस्पतालमा मृत्यु भएका संक्रमितको शव मृतकका आफन्तले हेर्न नपाएकोमा गुनासो बढ्दै गएपछि सरकारले यस मापदण्डमा तीन महिनाअघि केही खुकुलो बनाएको थियो। जसअनुसार होम आइसोलेसनमा बसेका संक्रमित र अस्पतालमा मृत्यु भएकाको अन्त्येष्टि गर्न मृतकको रीतिरिवाजअनुसार स्वास्थ्य मापदण्ड अपनाएर गर्न सकिने भएको छ। यस मापदण्डका कारण हाल भने घरमै मृत्यु भएका संक्रमितको शव व्यवस्थापन परिवारले गर्न पाएका छन्।

तर अस्पतालमा मृत्यु भएका संक्रमितको अनुहार भने परिवारले हेर्नसमेत पाउँदैनन्। जसका कारण मृतकका परिवारले बेलाबेलामा यसप्रति गुनासो गर्दै आएका छन्। उनीहरुका अनुसार यो विभेद हो।

अर्कोतर्फ शव व्यवस्थापनमा संक्रमण जोखिम बढ्ने भन्दै अहिले पनि सेनाले मृतकका आफन्तलाई लास हेर्नसमेत दिएका छैनन्। शव व्यवस्थापन गर्न परिवारले सहजै पाउन सक्ने अवस्था छैन।

मुलुकभरकै सबैभन्दा बढी संक्रमित र मृत्यु भएको जिल्ला काठमाडौं हो। हालसम्म काठमाडाैं जिल्लामा मात्र ३ सयभन्दा मानिसको कोरोनाबाट मृत्यु भइसकेको छ।

१८ गते काठमाडौं महानगरपालिका–१५ का ६८ वर्षीयको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलामा मृत्यु भयो। अस्पतालबाट दिउँसो पशुपति क्षेत्र विकासको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्न लगिएको थियो। शवदाह परिसरमा शव सेनाले लगेको थियो।

मृतकको नाम लेखी ब्यागमा राखेर ल्याइएको थियो। अस्पतालदेखि नै मृतकको अनुहारमा पूरै टेप लगाइएको थियो। ब्यागमा मृतकको नाम लेखिएकाले त्यसैबाट उनको पहिचान गरी आफन्तले परबाट फूल चढाएका थिए। मृतकका आफन्तले समेत शव हेर्न खोज्दा सेनाले दिएको थिएन।

सरकारले भने संक्रमित मृतकबाट कोरोना नसर्ने बताएको भन्दै मृतकका आफन्तले शव हेर्न पाउनुपर्ने बताइरहेका थिए। ती मृतकका दुई छोरासहित परिवारका अन्य सदस्य पनि त्यहाँ थिए।

मृतकका छोराले भने, ‘बुबाको अनुहारलाई नजिकैबाट नभए पनि टाढाबाट हेर्न दिएको भए हुन्थ्यो। हामी नछोइकन हेर्छाैंभन्दा पनि दिइएन। मृत शरीरबाट भाइरस सर्दैन भन्ने सुनिएको छ,’ अनुहार हेर्न नपाउँदा असाध्यै पीडा भएको उनले बताए।

‘मृत शरीरबाट भाइरस सर्दैन’

मृत शरीरबाट भाइरस सर्न नसक्ने भएकोले मृतकका आफन्तलाई अनुहार हेर्न दिनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर कुमार राजभण्डारी बताउँछन्। श्वासप्रश्वास बन्द भएपछि भाइरस सर्न सक्ने न्यून सम्भावना रहने उनले जानकारी दिए। अन्त्येष्टि गर्न लाँदा ब्यागमा प्याक गरेर लाने गरिएको छ।

सरकारले संक्रमितको अन्त्येष्टि गर्ने कार्यविधि बनाएपछि त्यहीअनुसार अस्पतालबाट लाने गरिएको छ। शवलाई पूर्ण रुपमा स्यानिटाइज गरेर स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई बाहिर निकाल्ने गरिएको उनले बताए । शव लैजाने सबैले पिपिई लगाउने भएकाले मृतकबाट भाइरस नसर्ने उनले प्रस्ट पारे। संक्रमितले बान्ता गरेको भए, शरीरबाट तरल पदार्थ बगे तथा कतै रगत भए जोखिमको त्रास हुने उनले बताए। तर शवबाट भाइरस भने नसर्ने उनले बलियो तर्क गरे।

‘प्राविधिक समस्या हुँदा अन्त्येष्टि गर्ने स्थानमा अनुहार नदेखाएका हौं’

अस्पतालको शवलाई अन्त्येष्टि गर्न पूर्ण रुपमा व्यवस्थित गरी सेनालाई हस्तान्तरण गरिँदा ब्याग खोलेर देखाउन नसकिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेल बताउँछन्।

प्याक गरिएको शव खोलेर देखाउँदा असहज अवस्था आउने उनको तर्क छ। अस्पतालले नै शवको पहिचान हुनेगरी लेखिदिँदा त्यसैको आधारमा आफन्तले परैबाट फूल चढाउने गरेका उनी बताउँछन्।

शव प्याक गर्नुअघि अस्पतालमा हेर्ने व्यवस्था सरकारले मिलाइदिए तिनका आफन्तले गुनासो नगर्ने उनको भनाइ छ। अस्पतालमा १ मिटर परबाट शव हेर्ने व्यवस्था मिलाउन पनि उनले सुझाए।

‘सेनाले शवलाई खोलेर देखाउँदा त्यसलाई पुनः प्याक गर्न सक्दैनन्,’ प्रवक्ताले भने,’ हतियार समाउने हातले शव व्यवस्थापन गर्ने गरिएको छ। त्यसको लागि प्राविधिक ज्ञान छैन।’ उनका अनुसार सरकारको निर्देशनअनुसार सेनाले शव व्यवस्थापनको काम गरिरहेको छ। जटिल समय भएकोले संवेदनशील विषय भएकोले नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी काम गरिरहेको छ।

– थाहाखबर बाट साभार