सगरमाथाको उचाइ नाप्न चुचुरोमा पुगेका टोली सम्मानित

News

सगरमाथाको उचाइ मापनका लागि विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरो पुगेका टोली आज एक कार्यक्रमकाबीच सम्मानित भएका छन् ।

निजामती पर्वतारोही संघले आज (बुधबार) सगरमाथाको उचाइ नाप्न चुचुरोमा पुगेका प्रमुख नापी अधिकृत इन्जिनियर खिमलाल गौतम, नापी अधिकृत रविन कार्की, सर्वेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताललाई सम्मान गरेको हो ।

उचाइ मापनका लागि इन्जिनियर गौतम नेतृत्वको टोली २०७६ जेठ ८ गते बिहान ३ बजेर ०५ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेको थियो ।

हिजो (मङ्गलवार) नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सगरमाथाको नयाँ उचाइ घोषणा गरेका थिए । यसअघि ८८४८ मिटर रहेको विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ बढेर ८८४८.८६ मि पुगेको छ । आर्थिक वर्ष ०७५/७६ देखि शुरु गरिएको सगरमाथाको उचाइ मापन प्रक्रिया हालै सम्पन्न भएर मन्त्रीपरिषद्को बैठकले सार्वजनिक गर्ने अनुमति दिएपश्चात् घोषणा गरिएको हो ।

यसपालि नेपाल सरकारले इतिहासमै पहिलोपटक आफ्नै लागत र जनशक्तिसमेत खर्चेर सगरमाथाको उचाइ मापन गरेको हो । यसअघि अन्य देशहरुले उचाइ नाप्दै आएका थिए ।