पूर्व राजदूत कमानसिंह लामासँग लेनदेनको विषयले विवादमा परेपछि सुसन कमाचार्यको परिवारले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेको छ । आइतबार अपरान्ह पौने दुई घन्टा मिनेट भेटेर सुसनको परिवारले उक्त प्रकरणबारे जानकारी गराउँदै गुनासो समेत पोखेको छ ।
सुसन कमाचार्य पति लक्ष्मणसिंह राजभण्डारी र छोरीसहित सपरिवार अपान्ह २ बजे बालुवाटार पुगेको थियो । त्यस क्रममा सुसनले आफ्नो कुरा राखेर प्रधानमन्त्री ओलीलाई आफूहरुको चरित्र हत्या गर्न खोजिएको भन्दै सहयोगको अनुरोध गरेका थिए । राजभण्डारीका अनुसार अपरान्ह २ देखि पौने ४ सम्म ओलीले समय दिएका थिए ।
प्रधानमन्त्री ओलीले यसबारे कमानसिंह लामाले आफूसँग पनि कुरा गरेको तर यो विषय आपसी भएकाले मिलेर सल्टाउन र प्रचण्डसँग सहयोग लिन सुझाव दिएको खुलाए । प्रधानमन्त्रीको भनाई उदृत गर्दै राजभण्डारीले फेसबुक पेजमा लेखेका छन्, ‘गल्लिमा कुकुर भुकिरहनछ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडि लाग्ने होइन, आनन्दले विना टेन्सन हिडिरहनुपर्छ ।’
याम्बालिङ हाइड्रोपावरको शेयर र त्यससँग सम्बन्धित कारोबारमा लेनदेन विवादको विषय बाहिर आएपछि सुसन तनावमा छिन् । यो प्रकरणमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि मुछिएका छन् । कमानसिंह लामाले निधन हुनुअघि फेसबुकमा असन्तुष्टि पोखेपछि उनकी कान्छी पत्नी इन्द्रमाया तामाङ पनि मुछिएकी छिन् । इन्द्रमायाले पनि सामाजिक सञ्जालमा लेखेर कमानसिंहले कुट्ने गरेको दाबी गरेकी छिन् ।
कमानसिंहका छोरा र परिवारका अन्य सदस्यले भने सुसनलगायतको टिमलाई रकम नदिएको आरोप लगाएको छ । यो घटना नेकपाभित्र समेत चर्चाको विषय बनेपछि हिजो बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले नारायणकाजीको बचाऊ गर्दै बोलेका थिए ।
राजभण्डारीले फेसबुकमा लेखेका छन्ः
मेरो श्रीमती सुसन कर्माचार्य अध्यक्ष रहेको र धेरै साथीइहरुको सहकार्यमा सञ्चालित याम्बालिङ हाइड्रोपावर प्रोजेक्ट र दिवंगत श्री कमानसिंह लामाको विचमा रहेको विवादमा ने.क.पा. का प्रवक्ता श्री नारायणकाजी श्रेष्ठलाई अनावश्यक रुपमा मुछेर र मेरो श्रीमती समेत हाम्रो परिवारको चरित्र हत्या गर्दै सामाजिक प्रतिष्ठामा समेत आँच पुर्याउने गरी भ्रामक रुपमा केही अनलाइन सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण गरिएको सन्दर्भमा हिजो २०७७ मंसिर २८ गते दिनको २ बजे बाट ३:४५ सम्म, म, मेरो श्रीमती(सुसन) र छोरी स-परिवार सम्माननीय प्रधानमन्त्री श्री के. पि. शर्मा ओलीज्यूलाई भेटेर सबै यथार्थ राख्यौँ। प्रधानमन्त्री ज्यूले १ घण्टा ३० मिनेट समय दिनुभयो र हाम्रो सबै कुरा ध्यानपूर्वक सुन्नुभयो। उहाँले श्री कमानसिंह लामले यस वारेमा आफूसँग पनि कुरा गरेको तर यो आपसी बिषय भएकोले मिलेर सल्टाउन र क.प्रचण्डले केही सहयोग गर्न सक्नुहुन्छ भने त्यता कुरा गर्न सुझाव दिनुभएको पनि जानकारी दिनुभयो। साथै उहाँले नेपालमा यस्ता नामै नसुनेका अन्लाईनहरुले जे पनि लेख्छ यसको पछी लाग्नु हुँदैन, गल्लिमा कुकुर भुकिरहन्छ, कुकुरले भुक्यो भन्दैमा कुकुरको पछाडि लाग्ने होइन, आनन्दले विना टेन्सन हिडिरहनुपर्छ भनेर सम्झाउनु भयो। देशमा राष्ट्रपती जस्तो सम्माननीय ब्यक्तिलाई पनि नानाथरिको लाञ्छना लगाइन्छ, त्यसैले यसको पछाडि लाग्नु हुन्न भनेर सम्झाउनुभयो। हाम्रो परिवार सम्माननीय प्रधानमन्त्रीज्यूलाई समय र साथको लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। कुनै प्रमाण विना सत्य तथ्य नबुझी जनतालाई भ्रम पैदा गर्ने, अरुको चरित्र हत्या गर्न खोज्ने कार्य कसैले नगर्न र त्यस्तो भ्रममा नपर्न विनम्र अनुरोध गर्दछौँ।-फाइल तस्बिर