जल तथा मौसम विज्ञान विभागका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम ४.० डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि आइतबार काठमाडौँको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो ।
मौसमविद् निराजन सापकोटाका अनुसार अब देशभर तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । “डम्म बादल लाग्यो भने बादलले ब्ल्याङ्केटको काम गर्छ र अधिकतम तापक्रम घट्छ, बादल लागेन भने न्यूनतम तापक्रम घट्छ र चिसो हुन्छ”, मौसमविद् सापकोटाले भन्नुभयो ।
यस वर्ष काठमाडौँको तापक्रम शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ । मौसमविद्का अनुसार अब केही दिन मौसम सफा हुने भएको छ ।
दिनभर घाम लागे पनि बिहानबेलुका बढी चिसो महसुस हुने बताइएको छ । हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।
अपराह्न प्रदेश नं १ लगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.० डिग्री र अधिकतम तापक्रम २१.६ डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६.५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम १३.५ डिग्री सेल्सियस छ ।।