कोरोना विरुद्धको फाइजर–बायोएनटेक खोप क्यानाडामा पनि ल्याइएको छ। पहिलो चरणको खोप आइतवार स्वदेश भित्रिएको प्रधानमन्त्री जस्टिन ट्रुडोले जानकारी दिएका छन्।
ट्विटरमा उनले लेखेका छन्– ‘फाइजर–बायोएनटेकको कोरोना विरुद्धको खोपको पहिलो चरणको आयात गरिएको छ।’ उनले गत बिहीबार पहिलो चरणमा ३० हजार मात्रा खोप केही दिनमै स्वदेश भित्र्याइने जानकारी दिएका थिए। त्यसअघि क्यानाडाको स्वास्थ्यसम्बन्धी नियमक निकायले सो खोप ल्याउनु उपयुक्त हुने निष्कर्ष निकाल्दै खोप ल्याउन अनुमति दिएको थियो।
खोप ल्याउन आवश्यक बजेट व्यवस्था पनि क्यानाडाको केन्द्रीय सरकारले नै गरेको उनले बताए। क्यानाडाले यो डिसेम्बर महिनाभित्र दुई लाख ४९ हजारभन्दा बढी खोप स्वदेश भित्र्याउने अपेक्षा गरेको छ। सो मात्राको खोपले एक लाख २४ हजार ५०० नागरिकलाई यसै वर्ष सेवा दिने क्यानडा सरकारको योजना छ।
कोरोना भाइरसका कारण क्यानाडामा अहिलेसम्म चार लाख ६० हजार ७४३ जना सङ्क्रमित भएका छन् भने १३ हजार ४३१ जनाको मृत्यु भएको छ।