प्रधानमन्त्री केपी ओलीले पूर्व माओवादी र तिनका विचारमाथि कडाशब्द प्रहार गर्दै व्यंग्य समेत गरेका छन्।
शनिबार काठमाडौंमा आफूनिकट युवा संघको कार्यक्रममा प्रधानमन्त्री ओलीले पूर्वमाओवादीले चलाएको ‘महान् जनयुद्ध’ फर्सी कुहिए झैं कुहिएको टिप्पणी गरेका हुन्।
ओलीले भने, ‘केपी ओली वैशाखपछि राजनीति रहँदैन, समाप्त हुन्छ भने। यिनका भविष्यवाणी कति ठाउँ खेर गए। महान् जनयुद्ध भनेर कराए। महान् जनयुद्ध के भो ? फर्सी कुहिए झै कुहियो।’
पहिचानको नाममा देशै टुक्र्याउन खोजेको आरोप लगाउँदै उनले भने, ‘यिनीहरुले के केसम्म गरे। नेपाली जनतालाई पहिचानको नाममा देश टुक्र्याउने योजना थियो।’
सोही सभामा प्रधानमन्त्री ओलीले संसद विघटनविरुद्ध बोल्ने चार पूर्वप्रधानन्यायाधीशहरुलाई हण्डीले पालिएका भन्दै न्यायालयलाई प्रभावित पार्न र नधम्क्याउन चेतावनी दिएका थिए।