भोलि देशभरका सबै अदालत बन्द हुने

News

सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको शोकमा भोलि (बिहीबार) देशभर सबै अदालत बन्द हुने भएको छ।

सर्वोच्चका नवौँ प्रधानन्यायाधीश सिंहको निधनमा शोक मनाउन भोलि (बिहीबार) देशभरका अदालतमा शोक बिदाका रूपमा बन्द रहने सर्वोच्चको बुधबार बसेको आकस्मिक बैठकले निर्णय गरेको हो। पूर्वप्रधानन्यायाधीश सिंहको ८९ वर्षको उमेरमा मंगलबार निधन भएको हो।

सर्लाहीमा जन्मेका सिंह २०१० सालदेखि सरकारी सेवामा प्रवेश गरी २०५२ असोज १० मा प्रधानन्यायाधीश नियुक्त भई २०५३ फागुन ३ सम्म सेवारत थिए।

सर्वोच्च अदालतले विज्ञप्तिमार्फत् सिंहको योगदान स्मरण गर्दै सेवामा रहँदा स्वतन्त्र न्यायपालिकाको मूल्यमान्यता स्थापित गर्न योगदान पुर्‍याएको उल्लेख गरेको छ।