‘जय नेपाल हल’ बन्द !

News

लामो इतिहास बोकेको नेपालकै सबैभन्दा पूरानो मध्येको एक ‘जय नेपाल हल’ बन्द हुने भएको छ । गत पौषबाट ५५ वर्ष लामो इतिहास बोकेको होटल अन्नपूर्ण बन्दको घटना सेलाउन नपाउँदै खर्च धान्न नसक्ने भएपछि जय नेपाल हल पनि बन्द हुने अवस्थामा पुगेको हो ।

निर्मल प्रधानको स्वामित्वमा रहेको जय नेपाल हल २०५५ देखि क्यूएफएक्सले हल चलाउँदै आएको थियो । प्रधानले २०४२ मा स्वामित्व लिएर पछि चलचित्र प्रर्दशन गर्ने ब्राण्ड क्यूएफएक्सलाई बिक्रि गरेका थिए ।

क्यूएफएक्सले चलाउन सुरु गरेको पहिलो फिल्म हल पनि जय नेपाल हल नै हो । क्यूएफएक्सले काठमाडौं, भक्तपुर, ललितपुर, पोखरा, नारायणगढ, विराटनगर, धरान, नेपालगञ्ज, बुटवल, भैरहवालगायत स्थानमा हल चलाउँदै आएको छ ।

तत्कालको सञ्चालन खर्च धान्न नसक्ने भएपछि हल बन्द गर्ने निर्णयमा पुगेको क्यूएफएक्स व्यवस्थापनले सदाका लागि भने हल बन्द गर्न नलागिएको बताएको छ । पूरानो इतिहास बोकेको र अवस्था सामान्य हुनासाथ पुनः पूरानै अवस्थामा सञ्चालन हुने भएकाले सधैँका लागि नभई तत्कालका लागि मात्रै बन्द गर्न लागिएको व्यवस्थापकको भनाई छ ।