नेपाल दक्षिण एसियाकै खुशी देश घोषित भएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकाय दिगो विकास समाधान नेटवर्कले सार्वजनिक गरेको सन् २०२१ को खुशी देशहरुको सूचीमा नेपाल ५ दशमलव २६ अंकसहित ८७ औँ स्थानमा परेको हो ।
सन् २०१९ मा एक सयौँ स्थानमा रहेको नेपाल २०२० मा ९२ औँ स्थानमा थियाे । यसपटक पाँच स्थान माथि उक्लिएर दक्षिण एसियाकै खुशी देश बनेको हो । सन् २०१९ मा नेपाल भुटान र पाकिस्तानपछि तेस्रो खुशी हुने देश बनेको थियो । राष्ट्रसंघले कोरोनाभाइरस महामारी पछिको सामाजिक, मनोवैज्ञानिक, आर्थिक सूचकलाई आधार मानेर १ सय ४९ देशमा अध्ययन गरेको थियो । कूल ग्राहस्थ्य उत्पादन, सामाजिक सहयोग, व्यक्तिगत स्वतन्त्रता र भ्रष्टाचारको अवस्थालाई अध्ययनको सूचक मानिएको थियो ।
विश्व खुशीयाली प्रतिवेदन २०२१ अनुसार १४९ वटा देशहरुमा गरिएको अध्ययन अनुसार नेपाल ८७ नम्बरमा रहेको छ भने माल्दिभ्स ८७, बंगलादेश १०१, पाकिस्तान १०५, श्रीलंका १२९, भारत १३९ र अफगानिस्तान १४९ नम्बरमा रहेको छ । भुटानलाई अध्ययनमा समावेश गरिएको छैन ।